सयपत्री हाइड्रोपावरको आईपीओ आवेदन दिने भोली अन्तिम दिन
काठमाडौं, १६ साउन । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा लगानिकर्ताले भोली १७ गते सम्म लगानी गर्न सक्ने भएका छन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन् भने मेरो सेयरबाट पनि आवेदन दिन सकिने बताइएको छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनिले जनाएको छ ।
कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्रि नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन् ।