‘बृहत् पूर्वाधार निर्माणमा नीतिगत स्पष्टता पहिलो शर्त’
काठमाडौं, २६ भदौ । मुलुकको आर्थिक समृद्धिका लागि ठूला र बहुआयामिक पूर्वाधार निर्माण अहिले बहसको विषय बनेको छ । बृहत् पूर्वाधार विकास विना आर्थिक विकास सम्भव नहुने भएकाले यसको आवश्यकता र महत्व बढ्दै गएको हो । यद्यपि यस्ता पूर्वाधार निर्माणको पहलो शर्त भने नीति निर्माण र त्यस्तो नीतिमा स्पष्टता अपरिहार्य रहेको बताइएको छ । काठमाडौंमा हालै सम्पन्न नेपाल पूर्वाधार सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले यस्तो बताएका हुन् ।
विकासका विभिन्न आयामको विषयमा चर्चा गरिएको उक्त सम्मेलनमा लगानी बोर्ड नेपाल सहआयोजक रहेको थियो । कार्यक्रममा सीईओ भट्टले लगानी बोर्डको सहजीकरणमा अघि बढेका ठूला विद्युत् परियोजनाका अवसर र चुनौतीका विषयमा समेत जानकारी गराइएको थियो ।
सम्मेलन यातायात, ऊर्जा, शहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका विषयमा केन्द्रित थियो । साथै लगानी प्रवद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोध लगायत विषयमा विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजीक्षेत्रका प्रतिनिधिबीच छलफल भएको थियो ।