अर्थतन्त्रमा सुधारका संकेत, अधिकांश सूचक अझै नकारात्मक

काठमाडौं, ४ कात्तिक । चालू आर्थिक वर्षको पहिलो दुई महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्यांकले केही उकेही सूचक सकारात्मक रहेको देखाएको छ । नेपाल राष्ट्र बैंकले आज (शुक्रवार) सार्वजनिक गरेको तथ्यांकले वैदेशिक व्यापार घाटामा कमी आएको र विप्रेषण आप्रवाहमा सुधार आएको देखाएको छ ।
केन्द्रीय बैंकका अनुसार सो अवधिमा नेपालमा व्यापार घाटा ९.४ प्रतिशतले घटेको छ । यस्तै विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको छ ।
अर्थतन्त्रका प्रमुख दुई सूचक सकारात्मक देखिए पनि अन्य सूचक भने अझै नकारात्मक नै छन् । तथ्यांक अनुसार विदेश विनिमय सञ्चिति गतवर्षको भदौको तुलनामा २ प्रतिशतले घटेको छ । यस्तै चालू खाता ३७ अर्ब १८ करोडले घाटामा छ भने शोधनान्तर स्थिति समेत २३ अर्ब ६८ करोडले घाटामा छ ।
सो अवधिमा मूल्यवृद्धि समेत चुलिएको छ । भदौमा मुद्रास्फीति ८.६४ प्रतिशत पुगेको छ । गतवर्षको सोही अवधिमा यो ३.४९ प्रतिशत थियो ।