Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

विराटनगर भन्सारबाट घट्यो आयात निर्यात, राजस्व संकलन प्रभावित

विराटनगर भन्सारबाट घट्यो आयात निर्यात, राजस्व संकलन प्रभावित

विराटनगर, २७ कात्तिक । भारत, जोगवनीको मीरगञ्जस्थित प्रमाणा नदीमाथिको बेलीब्रिज भासिएको १० महीना भयो । १० महीनामा विराटनगर नाकाबाट हुँदै आएको कारोबारमा १८ अर्ब ७५ करोड रुपैयाँले कमी आएको छ । ४ किलोमीटर दक्षिणमा रहेको उक्त पुल र सँगै बनेको आरसीसी पुल सञ्चालनमा नआउँदा विराटनगर नाकाबाट कारोबार रकम घटेको हो ।

बेलीब्रिज भासिएपछि १ सय १६ किलोमीटर पश्चिममा रहेको सुनसरीको भण्टाबारी नाकाबाट रि–रूट भएर विराटनगर भन्सारसम्म मालवस्तु ल्याउनुपर्ने बाध्यता छ । पुल भासिनु अघिसम्म विराटनगर भन्सार कार्यालयले दैनिक १४ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्दै आएको थियो । पुल भासिनु, भारतसँगको उधारो व्यापार बन्द हुनु र आर्थिक मन्दीको कारण अहिले दैनिक १० करोड रुपैयाँमात्र राजस्व असुली भइरहेको छ ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाका अनुसार २०७८ पुस २२ गते मीरगञ्जको पुल भासिएपछि विराटनगर नाकाबाट हुने आयात निर्यात २५ प्रतिशत घटेको छ । यहाँबाट हुने कारोबार मेचीलगायत भन्सारमा सरेको छ ।

पुल भासिनुअघि दैनिक ४०० गाडी सामान विराटनगर भन्सारबाट जाँचपास हुन्थे । अहिले दैनिक २०० हाराहारी मात्र मालवाहक गाडीको जाँचपास हुने गरेको भन्सार प्रमुख सापकोटाले जानकारी दिए ।

२०७२ सालमा आएको बाढीले पनि मीरगञ्ज पुल भासिएको थियो । त्यो बेला जोगवनी नाकाबाट हुने आयात निर्यात ६ महीनासम्म वीरपुर नाका हुँदै सुनसरीको भाण्टाबारी नाकाबाट गरिएको थियो । त्यसबेला भारतले पुल मर्मत गरेर पूर्ण भारवहन क्षमतामा सञ्चालन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x