पूँजीगत बजेट खर्च सुस्त
काठमाडौं, २९ कात्तिक । चालू आर्थिक वर्षको पहिलो चार महिना सकिनै लाग्दा सरकारको पूँजीगत बजेट खर्च निराशाजनक देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सोमवारसम्ममा पूँजीगत बजेट खर्च ६.५९ प्रतिशत मात्र रहेको छ ।
चालू आर्थिक वर्षका लागि पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएकोमा सोमवारसम्ममा २५ अर्ब ८ करोड रुपैयाँ मात्र खर्च भएको हो । चालू खर्च भने २३.५३ प्रतिशत रहेको छ ।
आसन्न चुनावपछि नयाँ सरकार आउने, मन्त्रालयगत बाँडफाँटमा लाग्ने समस्या र नयाँ नेतृत्वले कार्य प्रारम्भ गर्नुपर्ने हुँदा यस वर्ष पूँजीगत खर्च झनै सुस्त हुने देखिएको छ ।