Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नुवाकोटका सबै क्रसर उद्योग अवैध, गृहकाे निर्देशनपछि लगाइयाे ताला

नुवाकोटका सबै क्रसर उद्योग अवैध, गृहकाे निर्देशनपछि लगाइयाे ताला

काठमाडाैं, ३० पुस । नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा ताला लगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।

उनका अनुसार जिल्लाका क्रसर उद्योग कानुनी मापदण्डअनुरूप सञ्चालनको अवस्था बुझ्न सहायक प्रजिअको नेतृत्वमा गठन गरिएको अनुगमन समितिको अनुगमनमा हालसम्म २२ वटामा ताला लगाएको छ । ‘अनुगमनमा अवैध पाइएकाले प्रक्रिया पूरा नभएसम्म ताला लगाइएको (सिल गरिएको) छ,’ प्रजिअ रिसालले भने, ‘उद्योग सञ्चालनका लागि तोकिएका मापदण्डको प्रशस्त उल्लंघन भएको पाइएपछि सीधै सिल गरिएको हो । कानुनी आधार पूरा गरेर सम्पर्कमा आउन पत्र दिइएको छ ।’

अनुगमनका क्रममा यसअघि निर्वाध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगको समेत मापदण्ड पूरा नभएको पाइएको छ भने केही उद्योग दर्ता नै नभई सञ्चालन गरिएकाले बन्द गरिएको उल्लेख छ । अनुगमनका क्रममा ताला लगाइएको २२ उद्योगमध्ये चारवटा उद्योग दर्ता नै नगरी सञ्चालनमा रहेको पाइएको छ भने एउटा उद्योगको नाम र सञ्चालकसमेत पत्ता लगाउन नसकेको प्रजिअ रिसालले जानकारी दिए ।

‘दर्ता भएका उद्योगको कानुनी सञ्चालनको मापदण्ड अनुगमनमा जाँदा दर्ता नै नभएका उद्योगहरूसमेत सञ्चालनमा देखियो,’ उनले भने, ‘दर्ता गरिएको छैन, निर्माण सामग्री अवैध रूपमा भित्र्याइएको छ । राजस्व छली गरेर राज्यलाई लाखौँ नोक्सान बनाउने दर्ता नभएका उद्योगको उपकरण जफतको तयारी गरेका छौँ ।’

नुवाकोटमा विदुर र बेलकोटगढी नगरपालिकासहित जिल्लाको लिखु, तारकेश्वर, तादी, ककनीलगायतका गाउँपालिकाको नदी र खोला तथा खानीलाई लक्षित गरेर क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x