नारायणगढ–बुटवल सडक विस्तारमा न्यून प्रगति
काठमाडौं, २ काठमाडौं । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको काम २३ प्रतिशतमात्रै पूरा भएको छ । गत असारमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम ४८ महिना पूरा हुँदा पनि प्रगति न्यून छ ।
चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेड’का टिम लिडर क्वाङसिक पार्कका अनुसार कोभिड–१९, रुख कटान, बिजुलीका पोल, उपकरण परिचालनलगायतमा ढिलाइ हुँदा सडक विस्तारको काममा ढिलाइ भएको हो । ‘सुरुआती अवस्थामा उपकरण परिचालन, रुख कटानमा निकुञ्ज र वनबाट स्वीकृति आउन ढिलाइ, बिलुजीको पोल सार्न ढिलाइ भयो,’ उनले भने, ‘जिल्लाका क्रसर उद्योग बन्द हुँदा सडक विस्तारको काम प्रभावित बनेको छ ।’ निर्माण कम्पनीले राम्रोसँग काम गर्न नपाउँदा सडक विस्तारको काममा ढिलाइ भइरहेको पार्कले बताए ।
क्रसर उद्योग बन्द हुँदा निर्माण सामग्रीको अभाव भएको छ । सडक विस्तारको काम सक्नुपर्ने समय सीमाभित्र अझै पनि सडकको अवरोध नहटेको निर्माण पक्षको भनाइ छ ।