भौतिक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा सरोकारवालाको जोड
काठमाडौं, १० चैत । भौतिक पूर्वाधार क्षेत्रमा लगानी अपुग भएको सरोकारवालाले बताएका छन् । अर्थतन्त्रमा पूर्वाधार क्षेत्रको योगदान बढाउन यस क्षेत्रमा ठूलो लगानी आवश्यक भएको उनीहरूले औंल्याएका छन् । बिहीवार काठमाडौंमा आयोजित ‘पूर्वाधारमा लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकासका लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताए । एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको अन्तरराष्ट्रिय संगठन (इफाप्का) र नेपाल निर्माण व्यवसायी महासंघले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा उनले पूर्वाधारमा पर्याप्त लगानी नभएको धारणा राखेका हुन् ।
यसैगरी निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी पनि कायमै रहेको मन्त्री श्रेष्ठले बताए ।
कार्यक्रममा एशियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा. विन्दुनाथ लोहनीले ठूलो आर्थिक वृद्धि चाहने हो भने पूर्वाधारमा गरिने लगानी बढाउनुपर्नेमा जोड दिए ।
नेपाल निर्माण व्यवसायी महासंघ र इफाप्काका समेत अध्यक्ष रवि सिंहले नेपालमा मात्र नभएर विश्वभर नै दिगो पूर्वाधार विकासको आवश्यकता बढ्दै गएको बताए । कमजोर वित्तीय अवस्था तथा प्रविधिका कारण नेपाल जस्ता मुलुकलाई दिगो विकासको लक्ष्य हासिल गर्न कठिन भएको उनको भनाइ थियो । इफाप्काका कार्यकारी निर्देशक लेभी भी एसपीरितुले पूर्वाधारको क्षेत्रमा आ–आफ्नो अनुभव आदानप्रदान गर्न यस्ता कार्यक्रम निकै उपयोगी हुने बताए । विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. घनश्याम गुरुङले नेपालमा दिगो तथा गुणस्तरीय निर्माणमा ध्यान दिन अहिले उपयुक्त समय रहेको धारणा राखे ।