एनआईसी एशिया बैंकले कमायो चार अर्ब ६५ करोडभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं, २१ साउन । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्म चार अर्ब ६५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १०.३५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष बैंकले चार अर्ब २१ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको खरबव कर्जा भने १ प्रतिशतभन्दा तल छ । गत वर्षको अन्त्यसम्म बैंकको खराब कर्जा ०.८० प्रतिशत कायम छ । अघिल्लो वर्ष यस्तो कर्जा ०.५३ प्रतिशत रहेको थियो ।
बैंकले असार मसान्तसम्म १२ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने फि तथा कमिशनबाट दुई अर्ब ३२ करोड २४ लाख रुपैयाँ आर्जन गरको छ ।
बैंकले उक्त अवधिमा ६ अर्ब ८२ करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।
बैंकको वितरणयोग्य मुनाफा भने केही बढेको छ । गत वर्षको अन्त्यसम्म यस्तो नाफा तीन अर्ब ६९ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष वितरणयोग्य मुनाफा तीन अर्ब ४२ करोड ७० लाख रुपैयाँ रहेको थियो । गत वर्ष लाभांश नदिएको बैंकको यो वर्ष भने लाभांश क्षमता ३१ रुपैयाँ ९९ पैसा रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५६ रूपैयाँ ४१ पैसा छ ।
बैंकको चुक्तपूँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । यो बैंकको जगेडा कोषमा गत वर्षको अन्त्यसम्म १४ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
बैंकले असार मसान्तसम्म दुई खर्ब ६२ अर्ब नौ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने सो अवधिसम्म तीन खर्ब ११ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।