ग्लोबल आइएमई बैंकको नाफा ४६ प्रतिशतले बढ्यो

काठमाडौं, २१ साउन । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा नाफा ४६ प्रशितले वृद्धि भएको छ । गत वर्षको असार मसान्तसम्म बैंकले सात अर्ब २५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले चार अर्ब ९५ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा वृद्धि भएसँगै नाफा बढ्न पुगेको हो । बैंकले गत वर्ष खुुद ब्याजमार्फत १७ अर्ब ११ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
गत वर्षको अन्त्यसम्म बैंकले फि तथा कमिसनबापत दुई अर्ब ६ करोड पाँच लाख रुपैयाँ आम्दानी गरेको छ । सञ्चालन मुनाफाबापत गत वर्षको अन्त्यसम्म बैंकले १० अर्ब ३६ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ ।
बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको अन्त्यसम्म बैंकको खराब कर्जा ३.०८ प्रतिशत पुुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.२८ प्रतिशत मात्र थियो ।
त्यस्तै गत आर्थिक वर्षसम्म तीन खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ बैंकको कर्जा लगानी भएको छ भने चार खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
कम्पनीको वितरणयोग्य मुनाफा ८.७१ प्रतिशतले घटेको छ । बैंकको गत वर्षसम्मको वितरणयोग्य मुनाफा दुई अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ । गत वर्ष यस्तो नाफा तीन अर्ब २३ करोड ९२ लाख रुपैयाँ थियो । गत वर्षसम्मको वितरणयोग्य मुनाफाबाट बैंकको लाभांश क्षमता ८ रुपैयाँ २७ पैसा रहेको छ ।
बैंकको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ०६ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी २० रुपैयाँ ७७ पैसा रहेको छ ।
बैंकको चुक्तापूँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा १९ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ सञ्चित गरेको छ ।