Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

बंगलादेशले नेपालबाट पहिलो चरणमा ४० मेगावाट बिजुली लैजाने

बंगलादेशले नेपालबाट पहिलो चरणमा ४० मेगावाट बिजुली लैजाने

काठमाडौं, ३२ साउन । नेपालको बिजुली बंगलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ । नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बंगलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने बताएको छ ।

अहिलेलाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्वपूर्ण रहेको यस क्षेत्रका जानकारहरूको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभीभीएन बंगलादेश निर्यातका लागि सहमति गरिसकेको छ । त्यही संस्थामार्फत नेपालको बिजुली बंगलादेश पुग्नेछ । बिजुली निर्यातका लागि आवश्यक सहमति भएको र केही विषय बाँकी रहे पनि त्यसलाई छिट्टै टुंगोमा पु¥याइने प्राधिकरणका प्रबल अधिकारीले जानकारी दिए ।

हाल इमेलमार्फत सहमति भएकोमा भौतिक उपस्थितिमै दुई देशका अधिकारीले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्ने भएका छन् । कुन आयोजनाको बिजुली बंगलादेश पठाउने, प्रतियुनिट कति मूल्य लिने र प्रसारण शुल्कबापत भारतीय कम्पनीलाई के कति भुक्तानी गर्ने भन्ने विषयमा सहमति हुन बाँकी छ । यसलाई निष्कर्षमा पु¥याउन धेरै समय नलाग्ने यसमा संलग्न पदाधिकारीको भनाइ छ ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीका अनुसार तत्कालका लागि कति मात्रामा बंगलादेश बिजुली पठाउन लागियो भन्ने भन्दा पनि बाटो खुल्यो भन्ने विषय महŒवपूर्ण हो । यसले नेपालको बिजुली तेस्रो देश पनि निर्यात हुन थाल्यो भन्ने सन्देश प्रवाह हुने र लगानी भिœयाउन सहज हुने उनको भनाइ छ । अध्यक्ष कार्कीले निजीक्षेत्रलाई पनि बिजुली निर्यातका लागि अनुमति दिन आग्रह गरे । ‘हामीले अनुमति पाएको खण्डमा भारत र बंगलादेशका निजी क्षेत्रसँग छलफल गरेर थप निर्यातका लागि मार्ग प्रशस्त गर्न सक्छौं’, उनले भने, ‘यसमा सरकार र निजीक्षेत्र दुवैको साझा प्रयास हुनु जरुरी छ । हामी त्यसका लागि तयार छौं ।’

सन् २०४० सम्ममा बंगलादेशले नेपालबाट ९ हजार मेगावाट बिजुली लैजाने आफ्नो रणनीतिक योजनामा समावेश गरेको छ । अहिले भारतले बंगलादेशलाई बिजुली निर्यात गरिरहेको छ । स्वच्छ ऊर्जाको खोजीमा रहेको बंगलादेशले नेपालका केही महत्वपूर्ण आयोजनामा लगानीका लागि चासोसमेत व्यक्त गरेको छ । गत जेठ २ गते बंगलादेशमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौं बैठकले बिजुली निर्यातको निर्णय गरेको थियो । त्यो बैठकले अन्तरदेशीय प्रसारण लाइनको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण र विकास गर्ने तथा अन्तरदेशीय विद्युत् आयात निर्यात गर्नेलगायतका विषयमा बृहत् छलफल भएको थियो ।

त्यही बैठकले ४० मेगावाट बिजुली निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण, एनटीपीसी विद्युत् व्यापार निगम, भारत र बंगलादेशबीच पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् विक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार त्रिपक्षीय सम्झौता भएको हो । नेपालबाट खरीद गर्ने बिजुलीको खरीद दरका विषयमा आवश्यक निर्णय गर्न एक समिति आवश्यक पर्ने बंगलादेशको नियम रहेको छ । त्यो समितिमा रहने सदस्यको नामसमेत प्रस्ताव भइसकेको बंगलादेशले जानकारी गराइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x