Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

काठमाडौँ प्रहरीमा एक महिनामै एक हजार दुई सय ७५ मुद्दा दर्ता

काठमाडौँ प्रहरीमा एक महिनामै एक हजार दुई सय ७५ मुद्दा दर्ता

काठमाडौं, २ भदौ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा एक महिनामै एक हजार दुई सय ७५ मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रवार पत्रकार सम्मेलन गरी चालु आवको साउन महिनामा विभिन्न घटनामा एक हजार दुई सय ७५ मुद्दा दर्ता भएको जानकारी दिएको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले गत आवको साउन महिनामा भन्दा चालु आवको साउन महिनामा अपराधका घटनामा वृद्धि भएको बताए ।

काठमाडौँ प्रहरीका अनुसार बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका छन् । बैंकिङ कसुरमा पाँच सय ६०, अभद्र व्यवहारमा दुई सय ७९, भवितव्य ज्यानमा एक सय १९, चोरीसम्बन्धी कसुरमा ५५, ठगीमा ३५, लागू औषधमा ३१, आत्महत्यामा ३७, जबरजस्ती करणीमा ३३, जुवामा १७ र अन्य अपराधमा एक सय १९ मुद्दा दर्ता भएका छन् ।

प्रहरीले मुद्दा दर्ता भएकामध्ये सात सय ६० जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा बैंकिङ कसुरमा दुई सय १२, अभद्र व्यवहारमा चार सय ३४, चोरीसम्बन्धी कसुरमा ८२, ठगीमा १२, लागू औषधमा ५१, जबरजस्ती करणीमा ३४, जुवामा एक सय १३ र अन्य अपराधमा एक सय ७८ रहेका छन् ।

गत वर्षको साउनमा मात्र विभिन्न अपराधमा एक हजार ४७ मुद्दा दर्ता भएको प्रवक्ता ढुङ्गेलले बताए । काठमाडौँ प्रहरीले साउन महिनामा बौद्ध, लैनचौर, सिंहदरबार, कालिमाटी वृत्तमा हिरासतमा पुस्तकालयको व्यवस्था मिलाएको छ । एक महिनाको अवधिमा काठमाडौँका विभिन्न क्षेत्रबाट हराएका दुई सय ४९ व्यक्तिमध्ये एक सय ७१ जनालाई खोजी गरी सम्बन्धित परिवारलाई बुझाएको छ भने चोरी, हराएर वा पाकेटमारी भएका दुई हजार दुई सय ८७ निवेदनमध्ये तीन सय ९७ निवेदनमाथि खोजी गरेर सम्बन्धित धनीलाई बुझाइएको काठमाडौँ प्रहरीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x