पुनर्बीमा कम्पनीको गत वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ५९ करोड नाफा
काठमाडौं, २८ भदौ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । अन्य बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षभरीको वित्तीय विवरण सार्वजनिक गरिसक्दा यो सरकारी कम्पनीले भने तेस्रो त्रैमासको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको हो ।
कम्पनीले जीवन र निर्जीवन बीमा गरी ५९ करोडभन्दा बढी नाफा आर्जन गरेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा व्यवसायबाट कम्पनीले ६ करोड ७१ लाख ८४ हजार नाफा आर्जन गरेको छ । निर्जीवन बीमा व्यवसायतर्फ खुद नाफा घटेको छ । अघिल्लो वर्षको सोही अवधिम कम्पनी दुई करोड ९७ लाख रुपैयाँ नोक्सानीमा थियो । अघिल्लो वर्ष ६० करोड २१ लाख १७ हजार रुपैयाँ रहेको निर्जीवन बीमा व्यवसायतर्फको खुद नाफा गत वर्ष ५२ करोड ९० लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ ।
कम्पनीले १ अर्ब ४६ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बिमा व्यवसायबाट १ अर्ब ३२ करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
गत वर्ष चैत मसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ७९ करोड ८२ लाख ३४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले ६ अर्ब ५३ करोड ९९ लाख ४७ हजार रुपैयाँ निर्जीवन व्यवसायबाट खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिसम्म पुनर्बीमा कम्पनीको चुक्तापूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ४ अर्ब ७८ करोड ६५ लाख ६० हजार रुपैयाँ र जीवन बिमातर्फ ६० करोड २५ लाख २१ हजार रुपैयाँ जम्मा भएको छ । निर्जीवन बीमा कोषको आकार ३ अर्ब २८ करोड ५४ लाख ४७ हजार रुपैयाँ रहेको छ ।