काठमाडौं महानगरको नयाँ पहल — ‘सिल्भर भोलिन्टियर’ कार्यक्रममार्फत अनुभवी नागरिक अब विकास अभियानमा
काठमाडाैं, ८ कार्तिक । काठमाडौं महानगरपालिका (KMC) ले ४५ वर्ष माथिका अनुभवी र परिपक्व नागरिकको सीप, ज्ञान र अनुभवलाई उपयोग गर्न लक्षित गर्दै ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ।
यो कार्यक्रममार्फत लामो समय विभिन्न क्षेत्रमा काम गरेर अनुभव हासिल गरेका नागरिकले सेवानिवृत्तिपछि पनि समाज र राष्ट्र विकासमा योगदान पुर्याउने अवसर पाउनेछन्।
अनुभवी नागरिकलाई सक्रिय भूमिकातर्फ
महानगरको शहरी योजना आयोगअन्तर्गतको सचिवालयका सदस्य विवेक बास्तोलाका अनुसार, “यदि तपाईं ४५ वर्ष माथि हुनुहुन्छ, कुनै जागिर वा व्यवसायबाट अवकाश लिनु भएको छ, र समाजमा योगदान गर्न चाहनुहुन्छ भने— अब काठमाडौं महानगरसँगै हातेमालो गर्न सक्नुहुन्छ।”
यस कार्यक्रमअन्तर्गत सहभागीहरूलाई शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, शहरी विकास र सम्पदा संरक्षणजस्ता क्षेत्रहरूमा महानगरसँग मिलेर काम गर्ने अवसर प्रदान गरिनेछ।
आवेदन प्रक्रिया र योग्यता
महानगरले ‘KMC Silver Volunteer Procedure’ अनुसार आवेदन खुला गरेको छ। इच्छुक व्यक्तिले अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्।
कार्यक्रममा सहभागी हुनका लागि निम्न योग्यता निर्धारण गरिएको छः
-
उमेर ४५ वर्षभन्दा माथि र ७४ वर्षभन्दा कम हुनुपर्ने,
-
सरकारी, निजी वा गैरसरकारी क्षेत्रमा कम्तीमा २० वर्षको कार्य अनुभव हुनुपर्ने,
-
हप्तामा कम्तीमा पाँच घण्टा सेवा दिन इच्छुक हुनुपर्ने,
-
इमानदार र जिम्मेवारीपूर्वक काम गर्ने क्षमता भएको,
-
कुनै पनि फौजदारी अभियोगमा दोषी नभएको, र
-
प्रचलित कानुनअनुसार अयोग्य नरहेको व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।
उद्देश्य र प्रभाव
महानगरको भनाइअनुसार, यो कार्यक्रमले अनुभवी नागरिकहरूको ज्ञान र सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्नेछ। साथै, सहभागी नागरिकले सामाजिक सेवामार्फत सन्तुष्टि र आत्मगौरव पाउनेछन्।
शहरी योजना आयोगका सदस्य बास्तोलाले भने, “हामीसँग धेरै जना यस्ता नागरिक छन् जसले आफ्नो जीवनको महत्वपूर्ण समय राष्ट्र निर्माणमा बिताएका छन्। यो कार्यक्रम उनीहरूलाई फेरि समाजसँग जोड्ने माध्यम बन्नेछ।”
थप जानकारीका लागि
कार्यक्रमबारे थप जानकारीका लागि इच्छुक व्यक्तिले ९८४८०१८२१५ मा सम्पर्क गर्न सक्ने महानगरले जनाएको छ।



