तनहुँका नयाँ उद्योगको कूल पुँजी रू एक अर्ब २५ करोडभन्दा बढी
तनहुँ, ४ मङ्सिर । तनहुँ जिल्लामा एक वर्षको अवधिमा थपिएका उद्योगको कूल पुँजी रू एक अर्ब २५ करोडभन्दा बढी छ ।
आर्थिक वर्ष २०७९/८० मा जिल्लामा छ सय तीन नयाँ उद्योग दर्ता भएकामा ती उद्योगको पुँजी रू एक अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय रहेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ ।
त्यसमध्ये स्थिर पुँजी रू ६५ करोड ९५ लाख ७९ हजार पाँच सय र चालु पुँजी रू ५९ करोड ६१ लाख ५० हजार रहेको कार्यालयका प्रमुख दुर्गाराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार दर्ता भएका उद्योगमा चार सय पाँच महिला र दुई सय २३ पुरुष गरी छ सय २८ जनाले रोजगारी पाएका छन् । त्यस्तै तीन सय ९२ महिला र दुई सय ७४ पुरुष गरी छ सय ६६ उद्यमी बनेका कार्यालयले जनाएको छ ।
उक्त अवधिमा ५० उत्पादनमूलक उद्योग दर्ता भएकामा रू १४ करोड ९८ लाख, तीन सय १८ कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता भएकामा रू ८३ करोड छ लाख ७९ हजार पाँच सय, एक सय १९ पर्यटन उद्योग दर्ता भएकामा रू १२ करोड ६९ लाख ५० हजार, एक सय १० सेवामूलक उद्योग दर्ता भएकामा रू १३ करोड तीन लाख, तीन पूर्वाधार उद्योग दर्ता भएकामा रू एक करोड ५० लाख र तीन सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योग दर्ता भएकामा रू ३० लाख पुँजी रहेको प्रमुख सुवेदीले जानकारी दिए ।
कार्यालयका अनुसार उत्पादनमूलक उद्योगमा ६०, कृषि तथा वन पैदावरमा आधारित उद्योगमा तीन सय २५, पर्यटन उद्योगमा एक सय ३२, सेवामूलक उद्योगमा ९८, पूर्वाधार उद्योगमा छ र सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा सात जनाले रोजगारी पाएका छन् ।
ती उद्योगको वार्षिक उत्पादन क्षमता रू एक अर्ब २० करोड ४४ लाख १४ हजार एक रहेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ ।
कार्यालयले उद्योग दर्ताबापत रू १२ लाख २७ हजार नौ सय राजस्व सङ्कलन गरेको छ ।