सातागत शेयर बजार : करिब ६ प्रतिशत बढ्यो नेप्से, कारोबार रकम दोब्बर बढ्यो
काठमाडौं, ८ पुस । गत साताको कारोबारमा शेयर बजारमा उत्साह छाएको छ । नेप्से परिसूचक अघिल्लो साताभन्दा ५.७४ प्रतिशत माथि उक्लिएको छ ।
धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन १९९४.६० विन्दुमा थियो । तर, गत साताको अन्तिम कारोबार दिन २१०९.१० विन्दुमा पुगेको हो । अघिल्लो साताको तुलनामा अंकको हिसाबमा गत साता ११४.५ अंकले नेप्से परिसूचक उकालो लागेको हो ।
सात कारोबार दिन निरन्तर बढेको बजार बिहीवार भने ३२.७७ अंक घटेर बन्द भएको हो । गत साता पहिलो कारोबार दिन २७.७५ अंक, दोस्रो दिन ३८.१४ अंक, तेस्रो कारोबार दिन ४५.९८ अंक, चौथो दिन ३५.३९ अंक बजार बढेको हो ।
पाँच कारोबार दिनमा गत साता ३१ अर्ब २९ करोड ४६ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ । अघिल्लो साता १६ अर्ब ६९ करोड ५१ लाख रुपैयाँभन्दा बढीको मात्र धितोपत्र कारोबार भएको थियो । बजारसँगै कारोबार रकम पनि गत साता १४ अर्ब ५९ करोड ९५ लाख रुपैयाँले बढेको हो ।
औसतमा अघिल्लो साता ३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा गत साता ६ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
बढेको बजारमा गत साता लगानीकर्ताहरूको सम्पत्ति मूल्य १ खर्ब ९९ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ३० खर्ब ७६ अर्ब ५२ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७६ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी कायम भएको हो ।
गत साता सबै समूहगत परिसूचकहरू बढ्दा उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १९.२८ प्रतिशत बढेको छ । सर्वाधिक दोस्रोमा गत साता लगानी समूहको परिसूचक १४.४५ प्रतिशत बढेको हो ।