दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकको नाफामा कमी, कुन वाणिज्य बैंकको नाफा कति ?
काठमाडौं, ७ माघ । वाणिज्य बैकहरुले चालू आर्थिक वर्ष (आव) २०८०/२०८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सञ्चालनमा आएका २० वटा वाणिज्य बैंकहरुको वित्तीय विवरण अनुसार अधिकांश वाणिज्य बैंकहरुको नाफा घटेको छ ।
चालु आवको पुस महिनासम्म वाणिज्य बैंकहरुले कूल २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । तर, बैंकहरुको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ९ दशमलव ९४ प्रतिशत कमी हो । गत आवको दोस्रो त्रैमासमा बैंकहरुले ३१ अर्ब ९४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा आर्जन गर्नमा नबिल बैंक रहेको छ । बैंकले सबैभन्दा धेरै ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख नाफा कमाएको थियो गत वर्षको वर्षको तुलनामा चालु आर्थिक वर्षमा भने बैंकको नाफा ६ दशमलव २८ प्रतिशतले कम हो ।
धेरै नाफा आर्जन गर्नेमा दोस्रो स्थानमा प्राइम कमर्सियल बैंक रहेको छ । बैंकले २ अर्ब १८ करोड २९ लाख २७ हजार रुपैयाँ रहेको छ । तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबलले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ रहेको छ भने चौथो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । वाणिज्यले २ अर्ब १ करोड ५३ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यस्तै, सबैभन्दा कम नाफा कमाउनेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ४९ दशमलव ६० प्रतिशतले कम छ । बैंकले गत आवमा १ अर्ब १७ करोड नाफा कमाएको थियो भने चालू आवको दोस्रो त्रैमासमा ५९ करोड मात्र नाफा कमाउन सकेको छ ।
३ वाणिज्य बैंकको मात्र नाफा बढ्यो, १७ वटाको घट्यो
गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवमा ३ वटा वाणिज्य बैंकको मात्र नाफामा वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ ऋणात्मक रहेको कृषि विकास बैंकले अहिले १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यसैगरी, हिमालयन बैंकको नाफा ५७ दशमलव ५३ प्रतिशले बढेर १ अर्ब ५० करोड ३९ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ९५ करोड ४७ लाख ४ हजार रुपैयाँ रहेको थियो ।
एभरेष्ट बैंकको पनि नाफा १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा ७ दशमलव ८८ प्रतिशतले बढि हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ थियो ।
यी बाहेक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म स्टान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ७२ करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५ करोड, सिद्धार्थ बैंकले १ अर्ब १३ करोड, सिटिजन्स बैंकले ७८ करोड, सानिमा बैंकले १ अर्ब १३ करोड, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले १ अर्ब ८० करोड, कुमारी बैंकले ८६ करोड, माछापुच्छ्रे बैंकले ८० करोड, एनएमबी बैंकले १ अर्ब ३७ करोड, नेपाल एसबीआई बैंकले ८४ करोड, प्रभु बैंकले ७२ करोड र एनआइसी एसिया बैंकले १ अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्ष यी सबैं बैंकको नाफा घटेको हो ।