४.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा जाने कर्जा, सबैभन्दा कम कृषि क्षेत्रमा
काठमाडाैं, २९ फागुन । चालु आर्थिक वर्ष २०८०÷८१ को सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१९७ अर्ब २१ करोड (४.१ प्रतिशत) ले बढेको छ ।वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१४८ अर्ब १२ करोड (३.२ प्रतिशत) ले बढेको थियो।
माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.५ प्रतिशत र ३५.५ प्रतिशत रहेको थियो।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२ प्रतिशतले, विकास बैंकहरुको ३.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले बढेको छ ।