११ महिनामा सरकारको कुल खर्च ११ खर्ब ८१ अर्ब, सबैभन्दा कम पूँजीगत तर्फ
काठमाडाैं, २७ असार । नेपाल सरकार, अर्थ मन्त्रालय,महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ को एघार महिनामा नेपाल सरकारको कुल खर्च रु.११ खर्ब ८१ अर्ब ३० करोड भएको छ ।
सरकारी खर्च गत आर्थिक वर्षको एघार महिनामा १३.६ प्रतिशतले वृद्धि भएकोमा, समीक्षा अवधिमा ०.४ प्रतिशतले मात्र वृद्धि भएको छ । समीक्षा अवधिमा चालु खर्च रु.८२२ अर्ब ८१ करोड, पूँजीगत खर्च रु.१३४ अर्ब ९८ करोड र वित्तीय व्यवस्था खर्च रु.२२३ अर्ब ५१ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.९१९ अर्ब १९ करोड भएको छ ।
गत आर्थिक वर्षको पहिलो एघार महिनामा ११.२ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ९.८ प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व रु.८२९ अर्ब ४ करोड र गैर कर राजस्व रु.९० अर्ब १५ करोड परिचालन भएको छ ।