विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै उच्च, १५.१ महिना वस्तु र १२.६ महिना वस्तु तथा सेवा आयात धान्न पुग्ने
काठमाडाैं, २७ असार । नेपालको विदेशी विनिमय सञ्चिति करिब २० खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बुधबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को जेठसम्मको आर्थिक तथा वित्त स्थिति प्रतिवेदनअनुसार २७ दशमलव ८ प्रतिशतले बढेर १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । यो सञ्चितिले १५ महिनाको वस्तु आयात र साढे १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८० असार मसान्तमा यस्ताे सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियाे ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५।७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई रु.१७५२ अर्ब ७७ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्घि भई रु.२१४ अर्ब ४२ करोड कायम भएको छ । २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।