अस्पतालको फोहोरबाट बायोग्यास
काठमाडौं, १३ साउन । अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन गर्न कुहिने, नकुहिने र संक्रमण फैलन सक्ने फोहोर भनेर छुट्याएर व्यवस्थापन गर्ने गरिन्छ । यसरी छुट्याइएका फोहोर कि त गाडिन्छन् कि त फोहोर मैला गाडीमा पठाइन्छ । तर थापाथलिको प्रसुती गृहले भने अस्पतालबाट निस्कने फोहोरबाट बायोग्याँस निकालेर यसको प्रयोग थालेको छ ।
‘प्रसुति हुँदाका सामाग्रीहरु जुन कुहिन्छन् ती सामाग्री प्रयोग गरि बायोग्याँस निकाल्न थालेका छौं प्रसुति गृहकी उप प्रशासक रानु थापाले अर्थको अर्थलाई भनिन्, प्रसुतिको समयमा प्रयोग हुने प्याड, न्यापकिन, डाइपर र बच्चाको सालनाल जस्ता कुरालाई प्रशोधन गरि त्यसबाट ग्याँस निकालेका छौं ।’
करिब १२ लाखको लगानीमा २ महिना अघिदेखि उक्त प्रक्रिया सुरु गरिएको हो । भण्डै २ वर्ष अघि सुरु भएको भएपनि ठाउँ ठाउँमा ग्यास लिक भएपछि त्यसलाई पुनः मर्मत गरि सञ्चालनमा ल्याइएको हो । ‘हामीले यो बायोग्याँस प्लान्ट एक वर्ष अघि नै बनाएको भएपनि ग्याँस चुहिएको कारण हामीले मर्मत गरि यसलाई सञ्चालन योग्य बनाएका छौं । यसबाट निस्किएको ग्याँस यहाँ रहेका आवासीय चिकित्सकलाई दैनिक खाना खुवाउने, चिया, पानी तताउनेका साथै अस्पतालका लागि आवश्यक परेको बेला प्रयोग गर्ने गरेका छौं, ’ उनले भनिन् ।
दैनिक ७० देखि ९० सुत्केरीको प्रसुति गराउने गरेको प्रसुति अस्पतालले यसअघि भने शिशुको सालनाल गाड्ने वा पशुपतिमा जलाउने गरेको थियो तर अहिले यो प्रक्रिया सुरु भएपछि भने त्यस प्रकारको झन्झट टरेको छ । हरेक दिनजसो करिब ३० देखि ३२ किलोग्राम सालनाल निस्किने गरेको छ । यसरी निस्कने सालनाल कुहाएर हामीले अस्पतालका डाक्टरको लागि दिउँसो मात्रै प्रयोग गर्ने गरेको उनले जानकारी दिइन ।
द्ेशकै पहिलो प्रसुति अस्पतालको रुपमा चिनिएको थापाथलीस्थित परोपकार प्रसुति गृहले फोहोरबाट नै मासिक ४० हजार रुपैंया आम्दानी गर्दै आएको छ । प्रसुति गृहका अलवा काठमाडौं मेडिकल कलेज, महाराजगंज टिचिङ् अस्पतालमा पनि यो विधि सुरु गर्ने तयारी गरिएको छ । अस्पतालबाट निस्कने मानवअंग जन्य फोहोर भएको कारणले यो नगरपालिकाले फोहोर फाल्ने ठाउँमा फाल्न पनि पाइदैंन । जसको कारण अस्पतालले पहिले यी फोहोरहरु गाड्ने गरेको भएपनि अब भने ठाउँको अभावका कारण हामीले यो प्रक्रिया सुरु गरेका थापाले बताइन ।
फोहोर व्यवस्थापनको लागि अस्पतालले कन्सल्ट्यान्टको सल्लाह र सुझाव अनुसार नै यो प्रक्रिया सुरु गरेको हो । सिभिल र बायोग्याँस कन्सल्ट्यान्टले अनुसन्धान गरेपछि दिएको सुझाव अनुसार नै छिट्टै कुहिने फोहोरलाई गोबर र पानीको मात्रा मिलाएर राख्ने गरिन्छ ।
‘सबैभन्दा पहिले हामीले विज्ञहरुको सल्लाहमा एउटा डोम बनायौं । त्यसलाई सुक्न दिएर हामीले पेन्ट गरि सुक्नलाई दियौं । पेन्ट सुकेपछि मात्रै हामीले केही महिना गोबर ल्याएर राख्यौं र ब्याकटेरिया निस्केपछि हामीले अस्पतालका अंगजन्य फोहोर अर्थात प्यासेन्टाज् हाल्यौं । ब्याकटेरियाले नै कुहाउन सघाउने भएकोले हामीले आज राखेको प्यासेन्टाज् १५ दिनमा बायोग्याँस बनिसक्छ, ’ उप प्रशासक थापाले बताइन ।
यसरी उत्पादन भइरहेको ग्यास पाइपलाइनको सहयोगमा किचेनसम्म पुग्ने गरेको छ जुन विरामी र डाक्टरहरुको लागि खाना पकाउनेलागि प्रयोग हुने गरेको छ । अहिले पाइलट प्रोजेक्टरको रुपमा सुरु भएको भएपनि अस्पतालले ग्याँस भण्डारणको लागि छुट्टै रिजर्भ ब्याग पनि बनाएको छ तर बाहिर पठाउन भने मिल्दैन ।