राष्ट्र बैंकको नयाँ पहल: ५ रुपैयाँको सम्पूर्ण सिरिज नोट आजदेखि बजारमा

काठमाडाैं, २ वैशाख । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका नयाँ नोटहरू सम्पूर्ण सिरिजसहित आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार, नयाँ नोटहरू न. ०००००१ देखि ९९९९९९ सम्मका सिरिजमा सार्वजनिक गरिएको हो, जसले यसअघि बाँकी रहेको सिरिजलाई समेत समेटेको छ।
राष्ट्र बैंकले आजदेखि बजारमा ल्याएको नयाँ नोटहरू पुरानै डिजाइन र आकारमा तयार पारिएको भए पनि केही विशेष पहिचान चिन्हहरू समावेश गरिएका छन्। नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको आकर्षक चित्र राखिएको छ भने दायाँतर्फ राष्ट्रिय फूल लालीगुराँसको पानी छाप समावेश गरिएको छ। त्यस्तै, नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ, जुन यस नोटको कानुनी मान्यता पुष्टि गर्ने प्रमुख आधार हो।
नोटको तल्लो भागमा बोर्डरमा उल्लेख गरिएको नोटको सिरिज संख्या नेपाली भाषामा “वि.सं. २०८१” लेखिएको छ, जसले यस नोटलाई विशिष्ट र चिनिने बनाउँछ।
यसअघि, राष्ट्र बैंकले २०७७ साल मंसिर १० गते ५ रुपैयाँ दरका नोटहरू (सिरिज २०२०) मा संकेत नं. ०००००१ देखि ९९९९९९ सम्म बजारमा ल्याउने निर्णय गरेपनि, विभिन्न कारणवश तीमध्ये केवल संकेत नं. १०००००१ देखि ५६०००० सम्मका मात्र नोटहरू बजारमा प्रचलनमा आएका थिए।
तर, हाल राष्ट्र बैंकले बाँकी रहेका सम्पूर्ण सिरिज नोटहरू समेत बजारमा ल्याउने निर्णय गर्दै पूर्णरूपमा ५ रुपैयाँ दरको नयाँ नोट सार्वजनिकीकरण गरेको छ। यस निर्णयले साना दरका नोटहरूको अभावलाई सम्बोधन गर्नुका साथै मुद्रा व्यवस्थापन प्रणालीलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।