समावेशी आर्थिक वृद्दिदरको संकेत: चालू वर्षको जीडीपी ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान

काठमाडाैं, १८ वैशाख । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार उल्लेख्य रुपमा विस्तार हुने प्रक्षेपण गरेको छ। कार्यालयले आज सार्वजनिक गरेको प्रारम्भिक राष्ट्रिय लेखामानअनुसार देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
गत आर्थिक वर्ष (२०८०/८१) मा जीडीपीको आकार ५७ खर्ब ९ अर्ब रुपैयाँमा सीमित थियो। चालू वर्षमा झण्डै ४ खर्ब रुपैयाँले जीडीपीमा वृद्धि हुने अनुमान गरिएको हो।
कार्यालयका अनुसार कृषि, वन तथा मत्स्य क्षेत्रले जीडीपीमा २५ दशमलव १६ प्रतिशत योगदान दिनेछ भने व्यापार क्षेत्रको योगदान १४ दशमलव ५५ प्रतिशत हुनेछ।
यो वर्ष नेपालले ४ दशमलव ६१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रारम्भिक अनुमान गरिएको छ। अर्थतन्त्रको प्रमुख क्षेत्र अनुसार कृषि क्षेत्रमा ३ दशमलव २८ प्रतिशत र गैरकृषि क्षेत्रमा ४ दशमलव २८ प्रतिशतको वृद्धि हुने देखाइएको छ।
राष्ट्रिय लेखामान तथ्याङ्क १८ फरक आर्थिक क्रियाकलापमा आधारित भएर तयार पारिएको हो। यीमध्ये विद्युत् तथा ग्याँस क्षेत्रमा सबैभन्दा उच्च, १३ दशमलव ८२ प्रतिशतको वृद्धिदर हुने अनुमान गरिएको छ।
त्यस्तै, चालू आर्थिक वर्षको अन्त्यसम्म नेपालीको प्रतिव्यक्ति आय १ हजार ५ सय १७ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। अघिल्लो आर्थिक वर्षमा यो दर १ हजार ४ सय ६७ डलर रहेको थियो, जसले करिब ५० डलरको वृद्धिलाई देखाउँछ।