Date

सोम, जेष्ठ ५, २०८२
Mon, May 19, 2025

विवादै विवादका बिच सडक निमार्ण कार्य अगाडि बढाउँदा जनता आक्रोसित, अति गरे प्रतिकार गर्ने चेतावनी

विवादै विवादका बिच सडक निमार्ण कार्य अगाडि बढाउँदा जनता आक्रोसित, अति गरे प्रतिकार गर्ने चेतावनी

काभ्रे, ४ जेष्ठ । विवादै विवादकावीच सडक बनाउन लागेपछि काभ्रे भुम्लु १ का जनता आक्रोसित भएका छन् । लाकुरी भन्ज्याङ उर्लेनी मोटरबाटो उपभोक्ता समितिले बागमती प्रदेशबाट प्राप्त १५ लाख रकमलाई उपयोग गर्न भन्दै भुम्लु गाउँपालिका वडा नं १ (साविक वडा नं ८)  स्थित लाँकुरी भन्ज्याङ खहरे खोला हुँदै उर्लेनीसम्म नयाँ सडक ट्र्याक खन्ने तयारी गरेको छ ।

नयाँ ट्र्याक खन्न लागिएको सडक मार्ग माटो बग्ने क्षेत्र भएकोले सडक बनेको खण्डमा भोलिका दिनमा पहिरो आउने, भुक्षय हुने, बन मासिने तथा खानेपानीको मुहानमा समेत असर पर्ने भयले स्थानीयहरु त्रसित मात्र भएका छैनन त्यसको असर दिर्घकालिन रुपमा पर्ने भन्दै स्थानीय चिन्ति र आक्रोसित समेत भएका छन् ।

सरकारीे कोषबाट प्राप्त बजेट सदुपयोग गर्नैपर्ने भए स्थानीयहरुले घट्टेखोला उर्लेनी भिम्सेन स्थान मन्दिर हुँदै चौवास, रामेछाप  सम्म क्युको बस सन्चालनमा रहेको उक्त मोटर बाटोलाई नै स्तरोन्नती गर्न माग गरेका छन् । उक्त सडक स्तरोन्नती नहुँदा यस ठाउँका बासिन्दाले विरामी परेको बेला अझै पनि  एम्बुलेन्स सेवा प्रयोग गनै निकै सास्ती भोग्ने गरेका छन् ।

“विकास विरोधी कोही पनि हैन, तत्कालिन आवश्यकता के हो ? स्थानीय सरकारले छुट्याउन सकेन”,  एक स्थानीयले भने “जसरी पनि आफ्नो मान्छे रिझाउने र बजेट सिध्याउने खेलमा लागेको देखिन्छ । यसले झनै विवाद सिर्जना गरेको छ ।”

त्यसो त स्थानीयले उक्त सडक स्तरोन्नतीको लागि पटक पटक बजेट माग गर्दा पनि सम्न्धित निकायले बेवास्ता गरी उल्टै नयाँ ट्र्याक खोल्न लागेकोमा आश्चर्य समते व्यक्त गरेका छन् ।

नयाँ ट्र्याक खोलिएमा मानव वस्तीमा दीर्घकालिन असर पर्ने भएकोले त्यसलाई रोक्नका लागि उनीहरुले यस अघि नै भौतिक पूर्वाधार कार्यालय धुलिखेल काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका र वडा कार्यालयमा समेत यसबारेमा गुनासो दर्ता गरिसकेका छन् । तर ती निकायहरुले पनि स्थानीयको गुनासोलाई सम्बोधन नगरेको उनीहरुको बुझाई छ ।

राजनीतिक पहुँचको हवला दिँदै उपभोक्ता समितिले स्थानीयको गुनासो र मागलाई बेवास्ता गर्दै जबरजस्ती सडक खन्ने तयारीमा लागेको बुझिएको छ । यसमा सम्बन्धित निकायले पनि चासो नदिएकोले विरोधको कार्यक्रम गर्ने तयारीमा स्थानीयहरु एकजुट भएका छन् ।

भौतिक पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रमख ईं. विरेन्द्र कुमार बज्रचार्याका अनुसार कागजी प्रक्रिया पुगेर आए पनि विवादै विवाद भएको खण्डमा यस्तो काम अगाडि बढ्नुको सट्टा रोक्नुपर्ने हुन्छ । कार्यालय प्रमुख ई. बज्रचार्यले भने “गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले योजना अगाडि बढाउने भनेर उपभोक्ता समिति बनाएर ल्याएका थिए । तर पछि त्यही गाउबाट स्थानीहरु आएर योजना र उपभोक्ता समितिका बारेमा प्रश्न उठाउँदै गुनासो दर्ता गरेपछि विवाद रहेको मैले थाहा पाएको थिएं । अनि मैले मिलेर अगाडि बढ्नु भनेको थिएं । पछि मिलि सक्यो भन्दै उपभोक्ता समितिका पदाधिकारी, वडा अध्यक्ष र गाउँपालिकाको अध्यक्षले सम्झौता गरिदिनु भनेकोले सम्झौता मात्र भएको हो । अब विवाद नटुङ्गिएको हो भने त काम रोक्नुपर्ने हुन्छ ।”

तर  उपभोक्ता समितिका पदाधिकारी, वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष भने अझै उनीहरुको गुनासो सुन्ने र विवाद टुङ्ग्याउनुको सट्टा एकपक्षीय रुपमा पेलेर अगाडि बढ्ने पक्षमा देखिएका छन् । स्थानीय सरकारको यही कदमका कारण असन्तुष्ट स्थानीयवासीले उपभोक्ता समिति बनाउँदा नै जालझेल भएको र त्यसमा वडा नं १ का वडा अध्यक्ष लेखनाथ श्रेष्ठ र भुम्लु गाउंपालिकका अध्यक्ष प्रेम बहादुर भुजेललेको मिलेमतो रहेको आरोप लगाएका छन् ।

उक्त सडक योजना बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजन गरिएको  भए पनि उपभोक्ता समितिका पदाधिकारी, वडा अध्यक्ष र पालिका अध्यक्षले आफ्नो राजनीतिक पहुँचको  आधारमा योजना परेकोले भन्दै काम पनि आफ्नै इच्छा  बमोजिम गर्ने भनेर स्थानीयहरुलाई बेवास्ता गर्ने गरेको नाम नभन्ने शर्तमा एक स्थानीले जानकारी दिए ।  उनले भने “हाम्रो पार्टीले हालेको पैसा हो, हामी जे सुकै गरौ, जस्तोसुकै गरौ, मतलव नगर भनेर हामीलाई धम्क्याउने गर्छन् ।”.

नयाँ ट्र्याक खोल्ने नाममा गाउँको विकास भन्दा पनि पार्टीका कार्यकर्ता पाल्ने कामका लागि सरकारी ढुकुटीको दुरुपयोग भएको उनीहरुको आरोप छ । स्थानयिको  हकहित भन्दा बाहिर गएर निर्माण गरिने कुनै पनि कार्य स्वीकार्य नहुने र सोही स्थान भन्दा तल भिमसेनस्थान मन्दिरमा खानेपानि लिफ्टिन  मुहानलाई समेत  ठूलो क्षति र असर पुग्ने हुँदा उक्त कार्य स्थगित गरि थप छलफलको माध्यमबाट  उचित निकास दिन आफूहरु तयार रहेको स्थानीयले माग गरेका छन् ।

स्थानीयको मागलाई बेवास्ता गरी उक्त योजना अगाडि बढाइएमा कडा प्रतिरोध गर्ने स्थानीयले चुनौती दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *