भारतबाट एप्पललाई बाहिर निकाल्ने ट्रम्पको प्रयास: अमेरिकी राष्ट्रपति र भारतीय संस्थापनबीचको तनाव बढ्दै

काठमाडाैं, ४ जेष्ठ । भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य तनावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय संस्थापनबीचको सम्बन्धमा चिसोपन देखिएको छ। अमेरिकी राष्ट्रपतिले आफूले दक्षिण एसियामा युद्ध रोक्न महत्वपूर्ण भूमिका खेलेको दाबी गरिरहँदा भारतले त्यसलाई अस्वीकार गरेपछि ट्रम्प असन्तुष्ट बनेका छन्।
पाकिस्तानले अमेरिकी हस्तक्षेपलाई खुलेर धन्यवाद दिइरहँदा भारतले भने ‘केवल पाकिस्तानी दबाबका कारण’ युद्ध रोकिएको सन्देश सम्प्रेषित गर्यो। भारतीय पक्षको यो रवैया ट्रम्पलाई मन परेन।
एप्पललाई भारतबाट निस्कन ट्रम्पको दबाब
ट्रम्पले भारतसँगको सम्बन्धमा बढ्दो असन्तुष्टिलाई ‘आर्थिक हतियार’का रुपमा प्रयोग गर्न खोजेका छन्। उनले एप्पल कम्पनीका सीईओ टिम कूकलाई भारतमा आइफोन उत्पादन नगर्न आग्रह गरेको बताएका छन्।
‘मैले सुनेको छु, तपाईँ भारतमा कारखाना खोल्नुभएको छ। तर म चाहँदिन कि तपाईँ भारतमा आइफोन उत्पादन गर्नुहोस्,’ ट्रम्पले एक पत्रकार सम्मेलनमा भने।
उनले भारतलाई संसारको सबैभन्दा बढी कर लगाउने मुलुकमध्ये एकको रुपमा चित्रण गर्दै कूकलाई भनेका छन्, ‘यदि तपाईँ भारतलाई मद्दत गर्न चाहनुहुन्छ भने ठीकै हो, तर मैले चाहेको कुरा भने अमेरिकामा उत्पादन बढाउनु हो।’
एप्पलको रणनीति र भारतमा लगानीको बढ्दो प्रभाव
एप्पलले २०१७ देखि भारतमा आइफोन उत्पादन सुरु गरेको थियो। पछिल्लो आर्थिक वर्षमा मात्रै कम्पनीले भारतमा २२ अर्ब अमेरिकी डलर बराबरको उत्पादन गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले बढी हो।
भारतमा उत्पादन हुने आइफोनमध्ये अधिकांश अमेरिका र अन्य अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिन्छ। २०२४/२५ आर्थिक वर्षमा मात्रै भारतबाट १७.४ अर्ब डलर बराबरको आइफोन निर्यात गरिएको थियो।
भारतमा एप्पलको उत्पादन बढ्दै जाँदा रोजगारीका अवसर पनि विस्तार भएको छ। हाल एप्पलसँग आबद्ध कम्पनीहरुमा १ लाख ६४ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
अमेरिकामा उत्पादन महँगो, भारतबाट निस्कन कठिन
विश्लेषकहरुका अनुसार ट्रम्पको दबाबका बाबजुद एप्पलको भारतबाट उत्पादन हटाउने सम्भावना कम देखिन्छ।
‘अमेरिकामा श्रम लागत निकै उच्च छ। भारतमा उत्पादनको तुलनामा अमेरिकामा उत्पादन गर्दा लागत निकै बढ्छ। यसले आइफोनको मूल्य पनि महँगो बनाउँछ,’ एक विश्लेषकले भने।
त्यस्तै, एप्पलले चीनमा आफ्नो उत्पादन घटाउँदै भारत र भियतनाममा विस्तार गरिरहेको छ। अमेरिकी–चीन व्यापार युद्धले चीनमा उत्पादन महँगो हुँदै गएपछि एप्पलले आफ्नो आपूर्तिमाला विविधीकरण गर्न चाहेको हो।
एप्पलको चीन–भारत रणनीति
हाल चीनमा एप्पलको सबैभन्दा ठूलो उत्पादन हब रहेको छ। तर, कम्पनीले पछिल्ला वर्षमा चीनको निर्भरतालाई कम गर्न भारतमा ठूलो लगानी गरेको छ।
भारतमा अहिले तीन ठूला कम्पनीहरुले आइफोन उत्पादन गरिरहेका छन् — फक्सकन, पेगाट्रन र टाटा इलेक्ट्रोनिक्स। ताइवानी कम्पनी विस्ट्रनले पनि पहिले उत्पादन गर्दै आएको थियो, जसलाई पछि टाटा इलेक्ट्रोनिक्सले अधिग्रहण गरेको छ।
ट्रम्पको भारत रणनीति र व्यापार वार्ता
भारतले अमेरिकासँगको व्यापार वार्ता जारी रहेको बताइरहेको छ। भारतीय विदेश मन्त्री एस. जयशङ्करले भनेका छन्, ‘व्यापार वार्ता जटिल छ। सहमति नबन्दासम्म केही ठोस भन्न सकिँदैन।’
तर ट्रम्प भने आफ्नो असन्तुष्टि प्रकट गर्न बाँकी राखिरहेका छैनन्। उनले भारतलाई ‘अमेरिकी उत्पादनमाथि अत्यधिक कर लगाउने देश’ भन्दै लगातार आलोचना गरिरहेका छन्।