अमेरिकाबाट ४० देखि ५० जना नेपाली अवैध बसोबासी आइतवार चार्टर्ड विमानमार्फत स्वदेश फर्काइयो

काठमाडाैं, २५ जेष्ठ । अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका ४० देखि ५० जना नेपाली नागरिकलाई आज (आइतवार) चार्टर्ड विमानमार्फत नेपाल फर्काइएको छ। उनीहरूलाई अमेरिकी सरकारद्वारा विशेष रूपमा व्यवस्था गरिएको चार्टर्ड विमानमा पठाइएको हो, जसले आज दिउँसो ४:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।
हालसम्म विमानमा कति जना नेपाली सवार छन् भन्ने संख्या यकिन भइनसकेको भए पनि प्रारम्भिक अनुमान अनुसार ४० देखि ५० जनासम्म नेपाली नागरिक छन्।
यो दोस्रो पटक हो जुन अमेरिकी सरकारले नेपाली नागरिकहरूलाई चार्टर्ड फ्लाइटमार्फत फर्काएको छ। यसअघि पनि अमेरिका सरकारले आठ जना नेपालीलाई यस्तै प्रक्रियाबाट स्वदेश फर्काएको थियो।
विमान अवतरणलगत्तै उनीहरूलाई अध्यागमन विभागले विस्तृत छानबिन गर्नेछ। त्यसपछि उनीहरूलाई नेपाल प्रहरीको जिम्मा दिइनेछ। प्रारम्भिक अनुसन्धान मानव बेचबिखन अनुसन्धान ब्युरो (Human Trafficking Bureau) द्वारा गरिने छ, जसअन्तर्गत उनीहरूले कसरी अमेरिका प्रवेश गरे, कुन बाटो प्रयोग गरियो र तिनको अवैध यात्रामा संलग्न एजेन्ट वा समूहहरू को थिए भन्ने विषयमा सोधपुछ गरिनेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरुभएसँगै अमेरिका सरकारले आप्रवासी नीतिहरू कडा बनाएको छ। यसपछि गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीहरूको, विशेषगरी नेपाल र भारतका नागरिकहरूको, धरपकड र निर्वासन तीव्र रुपमा बढाइएको छ।