आज दिउँसो १ बजे संघीय संसदको बैठक बस्दै, बजेटमाथि छलफल प्रस्ताव पेस गरिने

काठमाडाैं, २५ जेष्ठ । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज (आइतवार) दिउँसो १ बजे बस्ने कार्यक्रम रहेको छ। बैठकको कार्यसूचीअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) का लागि सरकारको वार्षिक आय–व्ययको अनुमान (बजेट) माथि छलफल सुरु गर्न प्रस्ताव पेस गर्नेछन्।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले ‘संघीय निजामती सेवा विधेयक, २०८२’ सम्बन्धी समितिको प्रतिवेदन संसदमा पेस गर्ने कार्यक्रम पनि रहेको छ।
यद्यपि, पछिल्ला केही दिनयता संसद बैठकले नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। प्रमुख विपक्षी दलहरूले गृह मन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्। उनीहरूले ‘भिजिट भिसा’ काण्डमा संलग्न रहेको भन्दै लेखकको राजीनामा माग गरिरहेका छन्।
विपक्षीको लगातारको अवरोधका कारण बजेट सम्बन्धी महत्वपूर्ण छलफलहरू प्रभावित हुँदै आएको छ। यद्यपि, आजको बैठकले उक्त गतिरोध तोड्दै बजेटमा प्रवेश गर्ने सम्भावना रहेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।