बाजेको सेकुवा खुलाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, भदौ १४ । सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखाहरु तत्काल खोल्न अन्तरिम आदेश जारी गरेको छ। सरकारले सुन तस्करीको पैसा रेस्टुरेन्टमा लगानी गरेको आशंकामा बाजेको सेकुवा रेष्टुरेन्टका सबै चेन शिलबन्दी गराएको थियो ।
बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले शिलबन्दी र ब्रान्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। शिलबन्दी गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै बाजेको सेकुवाका लगानीकर्ता चेतन भण्डारीकी श्रीमती नीतिमा भण्डारीले भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। यो उनको दोस्रो निवेदन थियो। यसअघि मजदुरसहित उनले असार २८ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
‘सर्वोच्च अदालतले पेशा तथ व्यवसाय गर्न पाउने मौलिक हक भएकोले उक्त हकमा रोक लगाउन सरकाले सक्दैन। बाजेको सेकुवा शिलबन्दी गर्ने निर्णयमा उचित आधार र कारण नदेखिँदा तत्काल खोली पेशा व्यवसाय गर्न दिनु।’ सर्वोच्चको निर्णयमा भनिएको छ ।
पेसा तथा व्यवसाय गर्न पाउने हक हनन गर्दै सरकारले शंकाको भरमा तालाबन्दी गरेकाले उक्त निर्णय खारेज हुनुपर्ने माग गर्दै बुधबार सर्वोच्चमा उनले रिट दायर गरेकी थिइन्। सरकारले बाजेको सेकुवाको ब्राण्ड नै प्रतिबन्ध लगाउन लागेको भन्दै उनले सर्वोच्चमा दोस्रो निवेदन दायर गरेकी हुन् । असार २८ गते दायर निवेदनमा पेशा तथा व्यवसायमा असर परेको दाबी गरिएको थियो। साथै सयौं मजदुरको गुजारामासमेत असर परेको उल्लेख गरिएको थियो। संविधानले ग्यारेन्टी गरेको पेसा–व्यवसाय गर्न पाउने र सम्पत्तिको हक समेत हनन हुनेगरी बिना पुष्टि रेस्टुरेन्ट बन्द गरिएकाले अन्तरिम आदेश माग गरिएको थियो ।
गृह मन्त्रालयद्वारा गठित विशेष अनुसन्धान समितिले बाजेको सेकुवा रेस्टुरेन्टका ५ वटा शाखामा जेठ ३० गते शिलबन्दी गरेको थियो। उक्त चेन रेस्टुरेन्टका अनामनगर, कमलपोखरी, बत्तीसपुतली, सोह्रखुट्टे र गैरीधारास्थित शाखा बन्द गराइएको थियो। ती शाखामा करिब ४ सय कर्मचारी कार्यरत रहेको थिए। अनुसन्धान समितिले अदालतको आदेश लिएर भण्डारीको सम्पत्ति छानबिनका क्रममा उनका रेस्टुरेन्टहरुमा सिलबन्दी गरिएको दाबी गर्दै आएको छ।
अनुसन्धान समितिले भण्डारीलाई सुन तस्करीमा संलग्न रहेको आशंका गरेसँगै उनी फरार छन्। भण्डारी हाल अमेरिकामा छन्। न्युयोर्कमा शाखा खोल्न उनी त्यहाँ गएका बेला तस्करीमा उनको संलग्नता खुलेको हो।
भण्डारीले ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके भनिने चुडामणि उप्रेती ‘गोरे’सँग मिलेर सुन तस्करीमा लगानी गरेको खुलेको थियो। तस्करी गर्नेबारेका धेरै बैठक उनकै रेस्टुरेन्टमा हुने गरेको सुन तस्करीका अभियुक्तहरुले बयानमा बताएका थिए।