स्वास्थ्य सेवामा २१ सय जनशक्ति थप्ने प्रस्ताव
काठमाडाैं, १९ साउन । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालहरूका लागि २१ सय जनशक्ति थप गर्ने प्रस्ताव अघि सारेको छ।
अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सुनिश्चित गर्न विभिन्न मन्त्रालयहरूसँग परामर्श गरिरहेको छ। सोही क्रममा स्वास्थ्य मन्त्रालयसँग गरिएको छलफलमा डाक्टर, नर्सलगायतका जनशक्ति आवश्यक रहेको प्रस्ताव स्वास्थ्य मन्त्री प्रदीप पौडेलले प्रस्तुत गरे।
मन्त्री पौडेलका अनुसार सातवटै प्रदेशमा स्वास्थ्य सेवा विस्तार गर्न तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले नयाँ जनशक्ति अपरिहार्य भएको हो। छलफलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दक्ष जनशक्ति बिना स्वास्थ्य सेवा गुणस्तरीय बन्न नसक्ने बताए। उनले आवश्यक परामर्शपछि जनशक्ति व्यवस्थापनबारे निर्णय लिइने स्पष्ट पारे।
बैठकमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई निःशुल्क औषधि वितरण, भक्तपुरको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको डीपीआर र जलन उपचार सेवाजस्ता विषयहरूमा पनि विशेष छलफल भएको थियो। सरकारी स्तरमा भएको यो छलफल स्वास्थ्य क्षेत्रमा प्रभावकारी सुधारको संकेतका रूपमा हेरिएको छ।



