१० वटा बैंकको १२ महिनाको खुद नाफा ३२ अर्ब ३८ करोड

काठमाडौं, २८ साउन । १० वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथौ त्रैमासिकसम्ममा ३२ अर्ब ३८ करोड २१ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० मध्ये मंगलबारसम्म १० वटा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
विवरणअनुसार नबिल बैंक, एभरेस्ट बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, सानिमा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक र सिटिजन्स बैंकको खुद नाफा ३२ अर्ब नाघेको देखिएको हो । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा आठ अर्ब १५ करोड ३६ लाख ३२ हजार रुपैयाँले बढी हो । उक्त अवधिमा यी बैंकहरुले कुल २४ अर्ब २२ करोड ८५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
उक्त १० वटा बैंकहरुमा रहेको निष्क्रिय कर्जाको अनुपात भने शून्य दशमलव ३८ प्रतिशतदेखि नौ दशमलव ९६ प्रतिशतसम्म रहेको विवरणले देखाएको छ ।
वित्तीय विवरण सार्वजनिक गर्नेमध्येमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिलले यस अवधिमा सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा शून्य दशमलव ९७ प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा भने नबिलले छ अर्ब १९ करोड ७१ लाख नौ हजार रुपैयाँ खुद नाफा कमाउँदा एक दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
त्यसैगरी, सोही अवधिमा चार अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको एभरेस्ट बैंकमा शून्य दशमलव ३८ प्र्रतिशत कर्जा निष्क्रिय छ । अघिल्लो आवको सोही अवधिमा यो बैंकको यस्तो नाफा तीन अर्ब ८० करोड ३२ लाख २५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ७१ प्रतिशत रहेको थियो ।
पछिल्लो अवधिमा चार अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको कृषि विकास बैंकमा भने नौ दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा कृषि विकास बैंकको यस्तो नाफा दुई अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात नौ दशमलव २४ प्रतिशत रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको चौथो त्रैमासमा तीन अर्ब ३९ करोड ५२ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको सिद्धार्थ बैंकमा दुई दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । अघिल्लो आवको सोही अवधिमा तीन अर्ब आठ करोड २८ हजार रुपैयाँ खुद नाफा कमाएकोमा सिद्धार्थमा दुई दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
गत आवको तेस्रो त्रैमासमा एनएमबी र सानिमाले क्रमशः तीन अर्ब २८ करोड १७ लाख ९२ हजार र दुई अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः तीन दशमलव ७२ र तीन दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी दुई बैंकहरुले क्रमशः दुई अर्ब २४ करोड ४३ लाख ९५ हजार र दुई अर्ब ३९ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः तीन दशमलव ४० र एक दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । कुमारी बैंकले पनि गत आवको चौथो त्रैमासमा दुई अर्ब ११ करोड ६४ लाख नौ हजार रुपैयाँ खुद नाफा कमाउँदा छ दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा ४६ लाख आठ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको कुमारीमा पाँच दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
गत आवको चौथो त्रैमासिक अवधिमा माछापुच्छे« बैंकले दुई अर्ब एक करोड १४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाउँदा तीन दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब चार करोड ५१ लाख ९९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ८६ प्रतिशत रहेको थियो । हिमालयन बैंकले पनि गत आवको चौथो त्रैमासमा एक अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाउँदा सात दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा एक अर्ब २३ करोड ८३ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएकोमा हिमालयनमा चार दशमलव ९८ प्र्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भने गत आवको चौथो त्रैमासमा एक अर्ब २९ करोड ३३ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाउँदा चार दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा सिटिजन्स बैंकको खुद नाफा एक अर्ब ३२ करोड सात लाख ३१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव १० प्रतिशत रहेको थियो ।