Date

बिहि, साउन २९, २०८२
Thu, August 14, 2025

१० वटा बैंकको १२ महिनाको खुद नाफा ३२ अर्ब ३८ करोड

१० वटा बैंकको १२ महिनाको खुद नाफा ३२ अर्ब ३८ करोड

काठमाडौं, २८ साउन । १० वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथौ त्रैमासिकसम्ममा ३२ अर्ब ३८ करोड २१ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० मध्ये मंगलबारसम्म १० वटा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

विवरणअनुसार नबिल बैंक, एभरेस्ट बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, सानिमा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक र सिटिजन्स बैंकको खुद नाफा ३२ अर्ब नाघेको देखिएको हो । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा आठ अर्ब १५ करोड ३६ लाख ३२ हजार रुपैयाँले बढी हो । उक्त अवधिमा यी बैंकहरुले कुल २४ अर्ब २२ करोड ८५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

उक्त १० वटा बैंकहरुमा रहेको निष्क्रिय कर्जाको अनुपात भने शून्य दशमलव ३८ प्रतिशतदेखि नौ दशमलव ९६ प्रतिशतसम्म रहेको विवरणले देखाएको छ ।

वित्तीय विवरण सार्वजनिक गर्नेमध्येमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिलले यस अवधिमा सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा शून्य दशमलव ९७ प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा भने नबिलले छ अर्ब १९ करोड ७१ लाख नौ हजार रुपैयाँ खुद नाफा कमाउँदा एक दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

त्यसैगरी, सोही अवधिमा चार अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको एभरेस्ट बैंकमा शून्य दशमलव ३८ प्र्रतिशत कर्जा निष्क्रिय छ । अघिल्लो आवको सोही अवधिमा यो बैंकको यस्तो नाफा तीन अर्ब ८० करोड ३२ लाख २५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ७१ प्रतिशत रहेको थियो ।

पछिल्लो अवधिमा चार अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको कृषि विकास बैंकमा भने नौ दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा कृषि विकास बैंकको यस्तो नाफा दुई अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात नौ दशमलव २४ प्रतिशत रहेको थियो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको चौथो त्रैमासमा तीन अर्ब ३९ करोड ५२ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको सिद्धार्थ बैंकमा दुई दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । अघिल्लो आवको सोही अवधिमा तीन अर्ब आठ करोड २८ हजार रुपैयाँ खुद नाफा कमाएकोमा सिद्धार्थमा दुई दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

गत आवको तेस्रो त्रैमासमा एनएमबी र सानिमाले क्रमशः तीन अर्ब २८ करोड १७ लाख ९२ हजार र दुई अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः तीन दशमलव ७२ र तीन दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी दुई बैंकहरुले क्रमशः दुई अर्ब २४ करोड ४३ लाख ९५ हजार र दुई अर्ब ३९ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः तीन दशमलव ४० र एक दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । कुमारी बैंकले पनि गत आवको चौथो त्रैमासमा दुई अर्ब ११ करोड ६४ लाख नौ हजार रुपैयाँ खुद नाफा कमाउँदा छ दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा ४६ लाख आठ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको कुमारीमा पाँच दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

गत आवको चौथो त्रैमासिक अवधिमा माछापुच्छे« बैंकले दुई अर्ब एक करोड १४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाउँदा तीन दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब चार करोड ५१ लाख ९९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ८६ प्रतिशत रहेको थियो । हिमालयन बैंकले पनि गत आवको चौथो त्रैमासमा एक अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाउँदा सात दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा एक अर्ब २३ करोड ८३ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएकोमा हिमालयनमा चार दशमलव ९८ प्र्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भने गत आवको चौथो त्रैमासमा एक अर्ब २९ करोड ३३ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाउँदा चार दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा सिटिजन्स बैंकको खुद नाफा एक अर्ब ३२ करोड सात लाख ३१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव १० प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *