Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

काठमाडौंमा उड्ने कारको पहिलो झल्को, नाडा अटो शोमा भीडैभीड

काठमाडौंमा उड्ने कारको पहिलो झल्को, नाडा अटो शोमा भीडैभीड

काठमाडाैं, ४ भदाै । राजधानीको भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो २०२५’ को पहिलो दिन सबैभन्दा बढी चर्चा पाएको आकर्षण बनेको छ — उड्ने कार।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार यस कारलाई औपचारिक रूपमा सार्वजनिक गरेसँगै प्रदर्शनी स्थलमा आगन्तुकहरूको ठूलो भीड देखियो। नेपालमा सर्वसाधारणले प्रत्यक्ष अवलोकन गर्ने अवसर पाएको यो पहिलोपटक हो, जसले भविष्यका मोबिलिटी समाधानबारे उत्सुकता अझै बढाएको छ।

पूर्णत: इलेक्ट्रिक प्रविधिमा आधारित यो दुई सिट क्षमताको कारले एकपटकको चार्जमा करिब ३० किलोमिटर उड्न सक्छ भने यसको अधिकतम गति १३० किलोमिटर प्रतिघण्टा रहेको छ। यात्रुको सुरक्षालाई ध्यानमा राखी मल्टी–प्यारासुट प्रणाली जडान गरिएको यो कार चीनको चांगन अटोमोबाइल कम्पनी र ईह्याङको सहकार्यमा निर्माण गरिएको हो।

‘दिपल’ उपब्रान्डअन्तर्गत तयार भएको यस कारलाई नेपालमा एमएडब्लू वृद्धि अटो कर्प प्रा.लि.ले ल्याएको हो। कार चीनको तातोपानी नाकामार्फत भरियाको सहायतामा काठमाडौंसम्म पुर्‍याइएको जानकारी दिइएको छ।

हाल भने यो कार प्रदर्शनीका लागि मात्र ल्याइएको हो। नेपालमा सञ्चालन अनुमति नपाएकाले मूल्य तोकिएको छैन। तर छिमेकी चीनमा यसको मूल्य करिब २ करोड रुपैयाँ बराबर पर्छ। अमेरिका, चीन, कोरिया र संयुक्त अरब इमिरेट्समा यसअघि नै यस्ता उड्ने कारहरूको परीक्षण भइसकेको छ।

नाडा अटो शोमा प्रस्तुत यो कारले नेपालमा इलेक्ट्रिक र हवाई यातायात प्रविधिप्रतिको सम्भावना र जनचासो दुवैलाई नयाँ उचाइमा पुर्‍याएको देखिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *