Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

नाडा अटो शोले देशको ४० प्रतिशत गाडी बिक्री सम्भालेको दाबी

नाडा अटो शोले देशको ४० प्रतिशत गाडी बिक्री सम्भालेको दाबी

काठमाडाैं, ४ भदाै । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नेपालमा बिक्री हुने झण्डै ४० प्रतिशत सवारीसाधन नाडा अटो शोमार्फत बुकिङ भएर बिक्री हुने दाबी गरेका छन्।

१७औं संस्करणको ‘नाडा अटो शो–२०२५’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अटो शो केवल प्रदर्शनी मात्र नभई व्यवसाय, रोजगार र राजस्वको महत्वपूर्ण थलो भएको बताए। उनका अनुसार, यही कार्यक्रममार्फत ठूलो मात्रामा रोजगार सिर्जना भएको छ भने सरकारी राजस्वमा समेत उल्लेख्य योगदान पुगेको छ।

अध्यक्ष चौधरीले नेपालमा सवारीसाधन एसेम्बलिङको आवश्यकता औंल्याउँदै लोकल एसेम्बलिङ र म्यानुफ्याक्चरिङलाई नाडाले निरन्तर जोड दिँदै आएको स्पष्ट पारे। उनले भने, “यदि आवश्यक पार्टपुर्जा देशमै उत्पादन गर्न सकियो भने त्यो अझै ठूलो फाइदा हुनेछ।”

उनले बढ्दो युवा पलायन रोक्न नाडाले प्रयास गर्दै आएको दाबी गरे। सीप विकास र रोजगारीका अवसर सुनिश्चित गर्न नाडा प्रतिबद्ध रहेको उनले जोड दिए।

त्यसैगरी, चौधरीले नाडा सरकारसँग केवल आलोचना गर्ने संस्था नभई, सहकार्य र प्रोत्साहनमार्फत नीतिगत सुधारमा सहयोग गर्दै आएको बताएका छन्। ९० प्रतिशत भन्दा बढी औपचारिक अटोमोबाइल व्यापार नाडाले प्रतिनिधित्व गर्ने दाबी गर्दै उनले चरणवद्ध रुपमा नीतिगत सल्लाह सरकारलाई दिइरहेको जानकारी दिए।

उनका अनुसार, नाडा अटो शो केवल गाडीको प्रदर्शनी नभई नेपालका लागि गौरवको विषय र भविष्यको सम्भावना बोकेको मञ्च पनि हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *