अमेरिकाले ६ हजार विद्यार्थीको भिसा रद्द, विश्वविद्यालय र अर्थतन्त्रमा ठूलो प्रभाव

काठमाडाैं, ४ भदाै । अमेरिकाले कडा भिसा नीतिअन्तर्गत हालै ६,००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको विद्यार्थी भिसा (F-1) रद्द गरेको छ। अमेरिकी कानून उल्लंघन, भिसा अवधि नाघ्ने, हिंसात्मक गतिविधि, चोरी, मदिरा सेवन गरी गाडी चलाउनेदेखि आतंकवादलाई समर्थन गर्ने कार्यसम्म संलग्न विद्यार्थीहरूलाई लक्षित गर्दै ट्रम्प प्रशासनले यस्तो कदम चालेको बीबीसीले जनाएको छ।
राज्य विभागका अनुसार रद्द गरिएका भिसामध्ये करिब ४,००० भिसा विद्यार्थीहरूले प्रत्यक्ष रूपमा अमेरिकी नियम उल्लंघन गरेको कारण हो भने २००–३०० भिसा आतंकवादी गतिविधि र मानव जीवनलाई जोखिममा पार्ने कार्यमा संलग्न देखिएकाहरूको हो। बाँकी भिसा भने अन्य अनियमितता र भिसा अवधिभन्दा बढी बसाइँको कारण रद्द गरिएको बताइएको छ।
ट्रम्प प्रशासनले पछिल्लो समय विशेषगरी गाजामा जारी युद्धविरुद्ध प्रदर्शनमा संलग्न हुने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई यहूदीविरोधी र आतङ्कवाद समर्थक भन्दै कारबाही गरिरहेको छ। यससँगै विश्वविद्यालयहरू र विदेशी विद्यार्थीहरूलाई लक्षित गर्दै नयाँ भिसा नीतिहरू कडाइका साथ कार्यान्वयन गरिएको छ।
गत जुन महिनामा जारी निर्देशनअनुसार अब नयाँ भिसा आवेदनकर्ताहरूले आफ्नो सामाजिक सञ्जाल प्रोफाइल अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। गोप्य वा पहुँच अवरुद्ध प्रोफाइललाई “सन्देहास्पद गतिविधि लुकाउने प्रयास” का रूपमा व्याख्या गरिने चेतावनी दिइएको छ।
विदेश मन्त्री मार्को रुबियोले विद्यार्थी भिसालाई संवैधानिक अधिकार नभई विशेषाधिकारको रूपमा व्याख्या गर्दै भने, “यदि हामीलाई उनीहरूको विगत थाहा भएको भए सुरुमा नै भिसा दिन्नथ्यौं। पछि थाहा पाएका कारण रद्द गर्नु अस्वाभाविक होइन।”
अमेरिकी राज्य विभागका तथ्याङ्कअनुसार २०२४ को आर्थिक वर्षमा करिब ४ लाख एफ–वान विद्यार्थी भिसा जारी भएको थियो। तर नयाँ नियमका कारण यस वर्ष भिसा अपॉइन्टमेन्टहरू अस्थायी रूपमा स्थगित हुँदा जारी हुने भिसाको संख्या निकै घट्ने अनुमान छ।
विश्लेषकहरूको भनाइमा, यस नीतिले नयाँ विद्यार्थी भर्नामा ३०–४० प्रतिशतले गिरावट ल्याउने र यसै शैक्षिक सत्रमा कुल अन्तर्राष्ट्रिय विद्यार्थी संख्या १५ प्रतिशतले घट्ने देखिन्छ। यसको प्रत्यक्ष असर अमेरिकी अर्थतन्त्रमा पर्न सक्नेछ, जसबाट करिब ७ अर्ब अमेरिकी डलर घाटा हुने र ६० हजारभन्दा बढी रोजगारी संकटमा पर्न सक्ने चेतावनी दिइएको छ।
यदि जुलाई–अगस्टमा भिसा वितरण प्रक्रियामा सुधार नभए, यस सिजनमा मात्रै करिब १ लाख ५० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा पढ्न नपुग्ने अनुमान गरिएको छ।