साउनमा ६८ हजारभन्दा बढी नेपालीले पाए वैदेशिक रोजगारका लागि श्रम स्वीकृति

काठमाडाैं, ४ भदाै । साउन महिनामा विदेश जान चाहने ६८ हजार ११० नेपालीले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति पाएका छन्। वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्षको पहिलो महिनामा पुरुष ५८ हजार ९४८ र महिला ९ हजार १६२ जनाले श्रम स्वीकृति लिएका हुन्।
विभागका तथ्यांकअनुसार, व्यक्तिगत आवेदनमार्फत ८ हजार ५४७ पुरुष र ३ हजार २२५ महिला गरी ११ हजार ७७२ जनाले, मेनपावर मार्फत २९ हजार १३० पुरुष र २ हजार ७०० महिला गरी ३१ हजार ८३० जनाले, पुनः श्रम स्वीकृतिमार्फत २० हजार ५४७ पुरुष र ३ हजार ९७ महिला गरी २३ हजार ६४४ जनाले, तथा जीटुजी प्रक्रियामार्फत ७२४ पुरुष र १४० महिला गरी ८६४ जनाले श्रम स्वीकृति लिएका छन्।
गत आर्थिक वर्षको साउनसँग तुलना गर्दा यो संख्या उल्लेख्य वृद्धि भएको छ। गत वर्ष सोही महिनामा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति पाएका थिए, जसमा पुरुष ५१ हजार ४३० र महिला ८ हजार १४५ रहेका थिए।
साउन महिनामा वैदेशिक रोजगारमा ठगीसम्बन्धी ५८० उजुरी विभागमा दर्ता भएको छ। यसमध्ये ७४ उजुरी मिलापत्र मार्फत समाधान गरिएको छ भने २६ उजुरी अदालतमा पुगेको जानकारी विभागले दिएको छ।
त्यस्तै, नेपालमै काम गर्न चाहने ९८ विदेशीले श्रम स्वीकृति लिएका छन् भने ९४ विदेशीले नवीकरण गराएका छन्। गत आर्थिक वर्षमा यस्तो श्रम स्वीकृति लिनेको संख्या ८९२ र नवीकरण गर्नेको १,६६७ थियो।
वैदेशिक रोजगार बोर्डका अनुसार, गत आर्थिक वर्षमा विदेशमा मृत्यु भएका ४८१ नेपालीको शव नेपाल फर्काइएको थियो भने साउन महिनामात्रै ३९ जनाको शव फिर्ता गरिएको छ।