नबिल बैंकका ग्राहकलाई एपमै ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट

काठमाडाैं, १६ भदाै । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपछि अब नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फतै यी सेवाहरू सहज रूपमा उपयोग गर्न सक्ने भएका छन्।
सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाईँ र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले हस्ताक्षर गरेका हुन्।
यस समझदारीसँगै बैंकका ग्राहकले चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडा लगायत २०० भन्दा बढी देश र क्षेत्रमा प्रयोग गर्न मिल्ने डाटा ई–सिम खरिद गर्न सक्नेछन्। बैंकका अनुसार यो सेवा विद्यार्थी, वैदेशिक रोजगारमा जाने र अन्तर्राष्ट्रिय भ्रमण गर्ने यात्रुका लागि विशेष लाभदायक हुनेछ।
नायब प्रमुख कार्यकारी अधिकृत बाजगाईँका अनुसार यो सेवाले विदेशमा इन्टरनेट अभाव, सिम खरिदका लागि केवाइसी फारम भर्ने झन्झट र विदेशी मुद्रा बुझाउनुपर्ने बाध्यता हटाउनेछ। ग्राहकले एपमै सजिलै आफूअनुकूलको डाटा प्याकेज छनोट गरेर खरिद गर्न सक्नेछन्।
त्यस्तै, बैंकले अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट पनि एपमै उपलब्ध गराउनेछ। संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार तयार हुने यो अनुमतिपत्र १९० भन्दा बढी मुलुकमा मान्य हुने बैंकले जनाएको छ। ग्राहकले एपमार्फत १० मिनेटमै अनलाइन आवेदन दिन सक्नेछन्। सवारी चालक अनुमतिपत्र अपलोड गरेपछि २४ घण्टाभित्र विद्युतीय प्रमाणपत्र उपलब्ध हुनेछ, जसलाई डिजिटल वा फिजिकल कार्ड दुवै स्वरूपमा प्राप्त गर्न सकिनेछ।
निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले यो सेवाले विद्यार्थी, वैदेशिक रोजगारीमा जाने र अन्तर्राष्ट्रिय यात्रुहरूलाई सीमापार आवागमन सहज र तनावमुक्त बनाउने विश्वास व्यक्त गरेका छन्।
निम्बज च्याट, भिडियो कल, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, ओटीटी, किनमेल, डिजिटल वालेट, गेम, क्विजलगायतका सुविधा एउटै प्लेटफर्ममा उपलब्ध गराउने अग्रणी सुपरएप हो।
नबिल बैंक भने चार दशकदेखि नेपालमा अग्रणी रूपमा नयाँ प्रविधि र सेवाको सुरुवात गर्दै आएको बैंक हो। हाल देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको बैंकले यसपटक पनि डिजिटल बैंकिङमा अर्को महत्वपूर्ण कदम अघि बढाएको छ।