सर्वोच्चको आदेशपछि ओझा पुनः प्राधिकरणमा
			काठमाडाैं, १ असाेज । सरकारले बर्खास्त गरेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा सर्वोच्च अदालतको आदेशपछि पुनः पदमा फर्किएका छन्। मंगलबार सर्वोच्चको पत्र बुझेपछि ओझा प्राधिकरण कार्यालयमा उपस्थित भएका निर्देशक पुजन ढुंगेल ‘अधिकारी’ले जानकारी दिएका छन्।
भदौ २३ गते सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले ओझालाई तत्काल पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। आदेशअनुसार सरकारको बर्खास्त निर्णय कार्यान्वयन नगर्नुका साथै नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया यथास्थितिमै रोक्न निर्देशन दिइएको छ।
चार महिनामात्रै पदमा रहेका ओझालाई कार्यसम्पादन कमजोर रहेको भन्दै सरकारले बर्खास्त गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध ओझाले अघिल्लो आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतको आदेशपछि ओझा मंगलबारदेखि औपचारिक रूपमा पुनः प्राधिकरणमा हाजिर भएका हुन्।



