Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

वर्षाको प्रकोप : देशभर पाँच सडक पूर्ण बन्द, यात्रुहरू अलपत्र

वर्षाको प्रकोप : देशभर पाँच सडक पूर्ण बन्द, यात्रुहरू अलपत्र

काठमाडाैं, ९ असाेज । विजयादशमी नजिकिँदै गर्दा घर फर्कने यात्रुहरूको चाप बढ्दो छ, तर लगातारको वर्षाले यात्रा कठिन बनेको छ। बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड अवरुद्ध भएपछि राजधानी काठमाडौँबाट निस्कने यात्रुहरू बाटैमा अलपत्र परेका छन्।

नेपाल प्रहरीको बिहान ८ बजेसम्मको तथ्यांक अनुसार देशभरका पाँच सडकखण्ड पूर्ण रूपमा बन्द छन् भने चार सडकखण्ड एकतर्फी मात्र सञ्चालन भइरहेका छन्।

कोशी प्रदेशमा भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ अन्तर्गतको कोशी राजमार्ग पूर्णरूपमा बन्द छ। बागमती प्रदेशमा गोसाईकुण्ड गाउँपालिका–२ अन्तर्गत नेपाल–चीन नाका जोड्ने पुल र इच्छाकामना गाउँपालिका–५ तुइन खोला क्षेत्रमा पर्ने नारायणगढ–मुग्लिन सडकखण्ड पनि पूर्ण रूपमा रोकिएको छ।

यसैगरी भुमे गाउँपालिका–४ काँडाबगर क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएको छ।

त्यस्तै रसुवाको उत्तरगया गाउँपालिका–५ नौबिसे अन्तर्गतको गल्छि–त्रिशुली–मैलुङ–स्याफ्रु सडक, बागलुङ गाउँपालिका–१३ कालाखेलाको कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर र पैसठ्ठि मोड अन्तर्गतको पूर्व–पश्चिम राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीको भनाइ छ।

सडक अवरोधका कारण काठमाडौँसहित अन्य शहर जाने यात्रुहरूलाई ठूलो समस्या भएको छ। सम्बन्धित स्थानमा मर्मत कार्य भइरहेको र आगामी केही घण्टामा सडक खुल्ने अपेक्षा गरिएको छ। प्रहरीको यातायात शाखाले यात्रुहरूलाई सतर्क रहन र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *