सानिमा रिलायन्सको दुईदिने तालिम, कर्मचारीको सीप र नैतिकता सुदृढ
काठमाडाैं, ९ असाेज । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारीको ज्ञान, क्षमता र पेशागत आचरण सुदृढ गर्न दुईदिने आवासीय तालिम सम्पन्न गरेको छ। “संस्थागत नैतिकता र कर्पोरेट संस्कृति तथा सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” शीर्षकमा आयोजित तालिममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेलसहित प्रमुख कार्यालयका कर्मचारीको सहभागिता रह्यो।
तालिममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी रोकथामसम्बन्धी विषयमा प्रशिक्षण दिए। साथै सिनर्जी माइलस्टोनका प्रशिक्षकहरूले कार्यस्थलमा नैतिक मानक, अनुपालन आवश्यकताहरू, सहकर्मी तथा बाह्य सरोकारवालासँगको सुमधुर सम्बन्ध कायम गर्ने उपाय र आवश्यक व्यक्तिगत रूपान्तरणबारे विस्तृत मार्गदर्शन प्रदान गरे।
कार्यक्रममा CEO पाण्डेले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी रोकथामको कानुनी र व्यावहारिक महत्वलाई जोड दिँदै, कम्पनीका सबै तहमा निर्देशिका पालना गर्न कुनै कसर बाँकी नराखिने प्रतिवद्धता जनाए। उनले तालिमबाट प्राप्त ज्ञान र सीपले कार्यस्थलमा कर्मचारीबीच सुमधुर सम्बन्ध कायम गर्न, व्यक्तिगत मूल्य–मान्यता कदर गर्न र कार्यदक्षता वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले हाल १६९ शाखा तथा उपशाखा र १८ बीमा योजनामार्फत सेवा पुर्याउँदै आएको छ। कम्पनीमा २१ हजारभन्दा बढी अभिकर्ता आवद्ध छन्।



