गरिमा बैंकबाट ‘गरिमा डिजि बटुवा’मा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

काठमाडाैं, ९ असार । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नै मोबाईल बैंकिङ एप “गरिमा डिजि बटुवा” मार्फत नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक गरेको छ। अब बैंकका ग्राहकले नजिकको शाखामा पुगेर फाराम भरेपछि आफ्नै मोबाईल बैंकिङ एपमार्फत यो सुविधा सक्रिय गर्न सक्नेछन्।
यस भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोनपे नेटवर्कमा उपलब्ध कुनै पनि क्युआर (QR) कोड स्क्यान गरेर सजिलै भुक्तानी गर्न सक्नेछन्। सेवामा न्यूनतम रु. १०,००० देखि अधिकतम रु. १,००,००० सम्मको क्रेडिट सीमा उपलब्ध हुनेछ। ग्राहकले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट रकम प्रयोग गर्न सक्नेछन् भने हिसाब राफसाफ गर्दा १० प्रतिशत मात्र वा सम्पूर्ण रकम एकैपटक भुक्तानी गर्ने विकल्प पनि रहनेछ।
भौतिक कार्डको आवश्यकता बिना मोबाइल एपमै उपलब्ध हुने यो सुविधा सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास गरिमा विकास बैंकले व्यक्त गरेको छ।
हाल बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएममार्फत डिजिटल बैंकिङसहित सरल, सुरक्षित र गुणस्तरीय सेवा दिँदै आएको छ।