Date

शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025

‘जेन–जेड लहर’ बाट उत्साहित राहुल, भारतमा नयाँ राजनीतिक तापक्रम

‘जेन–जेड लहर’ बाट उत्साहित राहुल, भारतमा नयाँ राजनीतिक तापक्रम

काठमाडाैं, ७ कार्तिक । भारतीय कांग्रेस नेता राहुल गान्धीले नेपालमा सुरु भएको ‘जेन–जेड आन्दोलन’लाई समर्थन जनाउँदै लेखेको सामाजिक सञ्जाल ‘एक्स’ (X) पोस्टले भारतीय राजनीतिमा नयाँ तरंग ल्याएको छ। उनले लेखेका थिए — “देशका युवा, विद्यार्थी र जेन–जेडहरूले संविधान जोगाउनेछन्, लोकतन्त्र बचाउनेछन् र मत चोरी रोकिनेछ। म सधैं उनीहरूसँग छु।”

सेप्टेम्बर १८ मा गरिएको उक्त पोस्टपछि प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डा, पूर्वमन्त्री रविशंकर प्रसाद र गिरिराज सिंहलगायत नेताहरूले राहुलमाथि तीखा टिप्पणी गरेका छन्।

कांग्रेस पार्टीले पछिल्ला निर्वाचनमा पराजयका कारणको रूपमा ‘ईभीएम (EVM)’मार्फत मत चोरी भएको आरोप लगाउँदै आएको छ। यही विषयलाई लिएर दिल्ली विश्वविद्यालयमा विद्यार्थी संघ निर्वाचन भइरहेका बेला राहुलले जेन–जेड पुस्तालाई मत चोरीविरुद्ध आवाज उठाउन आह्वान गरेका थिए।

तर उनको उक्त पोस्टपछि छ दिनमै भारतीय नियन्त्रित लद्दाखमा जेन–जेड आन्दोलन भड्कियो, जसमा एकैदिन चार जनाको मृत्यु भयो। आन्दोलनको नेतृत्व लद्दाखका पर्यावरणविद् सोनाम वाङ्चुकले गरेको भनिन्छ, जो अहिले जेलमा छन्। उनीसँग सम्बन्धित संस्थाहरूमाथि आर्थिक अनियमितताको आरोप लागेको छ।

विपक्षीहरूले लद्दाखमा भएको ठूलो आन्दोलनलाई राहुलको ‘एक्स’ पोस्टसँग जोडेर हेरेका छन्। भारतको रणनीतिक दृष्टिले संवेदनशील मानिने लद्दाखमा बढ्दै गएको असन्तोषले मोदी सरकारलाई पनि टाउको दुखाइ बढाएको छ।

विश्लेषकहरूका अनुसार काठमाडौंमा सेप्टेम्बर ८ र ९ मा भएको जेन–जेड आन्दोलन र त्यसपछि लद्दाखमा उत्पन्न घटनाक्रमले भारतको आन्तरिक राजनीतिमा प्रभाव पार्न थालेको छ। एक समय दिल्लीले काठमाडौंमा ‘माइक्रो–म्यानेजमेन्ट’ गर्थ्यो, तर अहिले नेपालमा भड्किएको युवा चेतनाले उल्टै भारतलाई असर गर्न थालेको टिप्पणी गरिन्छ।

त्यससँगै मुस्लिम समुदायबीच फैलिएको ‘आइ लभ मोहम्मद’ ट्रेन्डले पनि भारतीय राजनीतिक वृतमा हलचल ल्याएको छ।

५५ वर्षीय राहुलको उत्साहको कारण पनि स्पष्ट छ — इंडोनेसिया, फिलिपिन्स, जापान, श्रीलङ्का, बङ्गलादेश, नेपाल हुँदै फ्रान्ससम्म फैलिएको जेन–जेड बिद्रोहले स्थापित सत्ता संरचनालाई चुनौती दिइरहेको छ। राहुल अब यही पुस्तालाई आफ्नो राजनीतिक पुनरागमनको आधारका रूपमा देखिरहेका छन्।

राहुलका सामाजिक सञ्जालमा २८ मिलियनभन्दा बढी फलोअर्स छन्। उनको पोस्टमा प्रतिक्रिया जनाउँदै हिमाचलबाट निर्वाचित भाजपा सांसद तथा अभिनेत्री कंगना रनावतले लेखेकी थिइन्, “उनी आफैंलाई पनि थाहा छैन, विश्वमा के भइरहेको छ।” तर कंगनाको व्यङ्ग्य बीच, उनको राज्यसँगै सीमाना जोडिएको लद्दाखमा युवा सडकमा उत्रिएका छन् — पृथक राज्यको मागसहित।

१९८० देखि २००० को दशकको सुरुवातसम्म नेपालमा भारतीय कांग्रेसको प्रभाव बलियो थियो। त्यही समय भारतमा गान्धी परिवारको एकछत्र शासन थियो। तर राहुलले अझैसम्म सत्ताको स्वाद चाख्न पाएका छैनन्। त्यसैले अहिलेको उनको सक्रियता र बेचैनी अप्रत्याशित होइन।

१९८४ मा कांग्रेसले भारतभर ४१५ सिट जितेको थियो, जबकि त्यतिबेला मोदीको जनसंघ (हालको भाजपा) सँग जम्मा २ सिट थियो। तर २०१९ मा भाजपा ३०३ सिटसहित सत्तामा रहँदा कांग्रेस ५२ सिटमै सीमित रह्यो।

अब प्रश्न उठेको छ — नेपालमा देखिएको ‘जेन–जेड चेतना’बाट प्रेरित राहुल गान्धीले के यसैलाई भारतमा सत्ताको ढोका खोल्ने आधार बनाउनेछन्?

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *