तरलता नियन्त्रणका लागि राष्ट्र बैंकको ९० अर्ब निक्षेप संकलन घोषणा
काठमाडाैं, ९ कार्तिक । वित्तीय प्रणालीमा देखिएको अधिक तरलताको दबाब नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले फेरि ठूलो परिमाणको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रिय बैंकले आज आइतबार ४२ दिनका लागि ९० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने घोषणा गरेको हो।
राष्ट्र बैंकका अनुसार, उक्त निक्षेप संकलन निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत गरिनेछ। अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने र सोही दिन निक्षेप खरिद प्रक्रिया सम्पन्न गरिने जनाइएको छ।
बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडको गुणनफलमा आवेदन दिन सक्नेछन्। संकलित रकमको परिपक्वता मंसिर २१ गते हुनेछ, जसअन्तर्गत सावाँ र ब्याज भुक्तानी एकैसाथ हुनेछ।
राष्ट्र बैंकले यस पटक पनि बहुब्याजदर प्रणाली (Multiple Rate Auction) अन्तर्गत बिडिङ प्रक्रिया सञ्चालन गर्ने जनाएको छ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
केन्द्रीय बैंकले हालैका हप्ताहरूमा लगातार निक्षेप संकलन गर्दै आएको छ, जसको उद्देश्य बजारमा अत्यधिक तरलता घटाएर ब्याजदरको अस्थिरता नियन्त्रण गर्नु हो। विज्ञहरूका अनुसार, लगानी अवसर सीमित हुँदा बैंकिङ प्रणालीमा तरलता जमघट भइरहेको छ, जसलाई राष्ट्र बैंकले निक्षेप संकलनमार्फत तान्दै आएको हो।
यसपटकको ९० अर्ब संकलनले अल्पकालीन रूपमा तरलता सन्तुलनमा मद्दत गर्ने अपेक्षा राखिएको छ।



