भटमास तेल व्यापारमा उछाल: तीन महिनामै आयात ४.६ गुणा, निर्यात ३२ गुणा वृद्धि
काठमाडाैं, १० कार्तिक । नेपालको बाह्य व्यापारमा भटमास तेल (Soybean Oil) अग्रस्थानमा पुगेको छ । नेपालमा आफ्नै उत्पादन न्यून रहे पनि आयात गरी प्रशोधन र प्याकेजिङपछि निर्यात गरिने भटमास तेलले आयात–निर्यात दुवै सूचीमा शीर्ष स्थान ओगटेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिनामा नेपालले ३० अर्ब २४ करोड ८७ लाख रुपैयाँ बराबरको कच्चा भटमास तेल (Crude Soybean Oil) आयात गरेको छ । सोही अवधिमा ३० अर्ब ६९ करोड ७८ लाख रुपैयाँ बराबरको प्रशोधित भटमास तेल निर्यात गरिएको विभागले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा भने केवल ५ अर्ब ३४ करोड ७७ लाख रुपैयाँ बराबरको भटमास तेल आयात र ९४ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको निर्यात मात्र भएको थियो । यो तुलना गर्दा यस वर्ष आयात करिब ४.६ गुणा र निर्यात झण्डै ३२ गुणा बढेको देखिन्छ ।
व्यवसायिक विज्ञहरूका अनुसार भारतमा भटमास तेलको उच्च मागका कारण नेपाली निर्यातमा तीव्र वृद्धि भएको हो । तर उनीहरूका भनाइमा, यस्तो अस्वाभाविक रूपमा बढेको निर्यात लामो समयसम्म टिकाउ नहुने सम्भावना छ ।
नेपालमा भटमास तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ पर्याप्त मात्रामा उत्पादन नहुँदा व्यापारीहरूले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, कतार लगायतका देशहरूबाट ठूलो परिमाणमा क्रुड सोयावीन आयल आयात गरिरहेका छन् ।
उक्त आयातित कच्चा तेललाई नेपालमै सामान्य प्रशोधन गरी तयारी तेलका रूपमा भारत निर्यात गरिँदै आएको छ । यही कारणले भटमास तेल अहिले नेपालका आयात र निर्यात दुवै सूचीकृत वस्तुहरूमा पहिलो स्थानमा पुगेको छ ।



