प्रतिनिधि सभा विघटन रिटमा सुनुवाइका लागि संवैधानिक इजलास गठन
काठमाडाैं, १२ कार्तिक । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा गठन गरिएको इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन्।
गत भदौ २७ मा अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए। यो कदम संविधानविपरीत भएको दाबी गर्दै विभिन्न अधिवक्ताहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
उक्त प्रतिनिधि सभा विघटन निर्णय जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि गठन भएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले गरेको थियो।
सर्वोच्च अदालतको संवैधानिक इजलासले अब रिटमाथि सुनुवाइ गर्दै प्रतिनिधि सभा विघटनको संवैधानिक वैधता परीक्षण गर्नेछ।



