‘सुस्त अर्थतन्त्रबीच पनि कर्जा बृद्धि: बैंकहरूको ‘एभर ग्रिनिङ’ रणनीति तीव्र’
काठमाडाैं, १३ कार्तिक । अर्थतन्त्र लामो समयदेखि सुस्त गतिमा रहे पनि असोज महिनामा वाणिज्य बैंकहरूले कर्जा प्रवाह बढाएका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंक बाहेक सबै वाणिज्य बैंकहरूले पछिल्लो महिनामा कर्जा बृद्धि गरेको तथ्यांकले देखाएको छ।
यो अवधिमा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) र हिमालयन बैंक कर्जा बृद्धिमा अग्रणी देखिएका छन्। हिमालयन बैंकले निर्देशित कर्जाको सीमा पूरा गर्न नसकेपछि कुमारी बैंकसँग ठूलो परिमाणमा कर्जा स्वाप गरेकाले उसको कर्जा बृद्धिदर असामान्य रूपमा उच्च देखिएको हो।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसँग लगानीयोग्य पूँजी प्रशस्त रहेको र त्यसलाई उपयोग गर्न उसले कर्जा प्रवाहलाई प्राथमिकतामा राखेको देखिन्छ। नबिल बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले पनि असोजमा उल्लेखनीय कर्जा विस्तार गरेका छन्।
यता स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने कर्जा तीन प्रतिशतभन्दा बढीले घटाएको छ, तर बाँकी १९ वाणिज्य बैंकहरूले विभिन्न स्तरमा कर्जा बढाएका छन्।
गत असार मसान्तको तुलनामा एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले सर्वाधिक कर्जा विस्तार गरेका छन् भने एनआईसी एशिया बैंकले ठूलो मात्रामा कर्जा घटाएको छ।
बजारमा नयाँ लगानी अवसर अभाव र ऋणीहरू ब्याज तिर्न हिचकिचाइरहेका अवस्थामा पनि कर्जा बढ्नु बैंकरहरूका लागि ‘वित्तीय व्यवस्थापनको नयाँ तरिका’ बनेको छ। उनीहरूले पुराना ऋणीहरूबाट थप धितो लिएर नयाँ ऋण प्रवाह गर्ने र त्यसैबाट पुरानो कर्जाको ब्याज तथा किस्ता तिर्ने प्रचलन अपनाएका छन्। बैंकिङ भाषामा यसलाई ‘एभर ग्रिनिङ’ भनिन्छ।
राष्ट्र बैंकले यस्तो अभ्यास कानूनी रूपमा रोक लगाएको भए पनि हालको जटिल आर्थिक अवस्थाले गर्दा बैंकहरूले यो नीति निरन्तर प्रयोग गरिरहेका छन्। बैंकरहरूको भनाइमा, “यो उपायले अहिलेको कठिन अवस्थाबाट वित्तीय प्रणालीलाई अस्थायी राहत दिएको छ।”
नियामक निकाय राष्ट्र बैंकले पनि अहिलेको संवेदनशील अवस्थामा बैंकहरूलाई कानूनी दबाब नदिई ‘लचिलो दृष्टिकोण’ अपनाएको बैंकरहरूको बुझाइ छ।
बैंकहरूका अनुसार राजनीतिक अनिश्चितता र आर्थिक गतिविधि सामान्य अवस्थामा नफर्कुञ्जेल राष्ट्र बैंकले पनि प्रणालीलाई स्थिर राख्न सहकार्य जारी राख्नु आवश्यक छ।
बैंकरहरू भन्छन्, “अहिलेको प्राथमिकता नाफा होइन, प्रणालीलाई जोगाउनु हो।”




