Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

पूँजीगत खर्च ६ अर्ब मात्रै, राजस्व संकलन ३७ प्रतिशत बढि

पूँजीगत खर्च ६ अर्ब मात्रै, राजस्व संकलन ३७ प्रतिशत बढि

काठमाडौं, ०२ असोज । चालु आर्थिक वर्षको २ महिनामा सरकारले करिब ६ अर्ब रुपैयाँ मात्रै पूँजीगत खर्च गरेको छ ।

चालु आर्थिक वर्षको भदौ महिनासम्म १ खर्ब ३ अर्ब रुपैयाँ बजेट खर्च भएकोमा चालुतर्फ ९६ अर्ब र पूँजीगततर्फ ६ अर्ब रुपैयाँ खर्च भएको अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिएका छन् । तर, प्रदेशको खर्चको तथ्यांक आइ नसकेकोले खर्चको मुल्यांकन एकिन गर्न नसकिने उनको भनाइ छ । अघिल्लो वर्ष प्रदेशमा भएको खर्चको तथ्यांक पनि केन्द्रमा नै थियो, तर यस वर्ष छैन ।

भदौ र असोजमा अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशत बढि राजस्व संकलन भएको छ । यस अवधीमा १ खर्ब २० अर्ब राजश्व संकलन भएको छ । राजस्व संकलन बढेपनि विकास खर्च बढ्न नसक्दा मन्त्रालय यसमा सन्तुष्ट नभएको अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री खतिवडाले बताए । करको दर भन्दा पनि दायरा विस्तारलाई प्राथमिकता दिदै बजेटबाट नै कर छुटलाई निरुत्साहित गरिएको र ६ वटा आन्तरिक राजश्व कार्यालय र ११ वटा करदाता सेवा कार्यालय थप गर्न लागिएको समेत बताए ।

कार्यक्रममा अर्थमन्त्रीले विश्वव्यापी रुपमा अमेरिकी डलरको भाउ बढ्दा त्यसको असर नेपाली वस्तु तथा व्यापारमा परेको भन्दै आयात प्रतिस्थापनाका लागि विभिन्न नीतिहरु कार्यान्वयन गर्ने बताए ।

निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सरकारले लगानीसम्बन्धी सम्पूर्ण कानुनहरु परिमार्जन तथा नयाँ निर्माण गरी एकद्वार प्रणाली स्थापनाको तयारी गरिरहेको उनले जानकारी दिए । अर्थमन्त्री खतिवडाले निजी क्षेत्रको लगानी विस्तार र सहजीकरणका लागि वन क्षेत्र र जग्गा प्राप्तीमा सहजताका लागि नयाँ व्यवस्था गर्न लागेको पनि जानकारी दिए ।

अर्थमन्त्रालयसँग सम्बन्धित ४ वटा विधयेक संसदमा छलफलको क्रममा छ भने थप अन्य ऐनको मस्यौदा बनाउने काम भइरहेको अर्थमन्त्री खतिवडाले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x