Date

मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

बीमा नविकरणमा चुनौती, सरेन्डर दर घट्दै

बीमा नविकरणमा चुनौती, सरेन्डर दर घट्दै

काठमाडाैं, २ मंसिर । नेपालमा सवा १२ लाख बढी बीमितले ३७ अर्ब रुपैयाँ बराबरको बीमालेख नविकरण नगरेको तथ्य प्रकट भएको छ। नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको तथ्यांक प्रकाशन गर्दै यस्तो जानकारी दिएको हो।

असोज मसान्तसम्म १२,२०,५४८ बीमितले बीमालेख नविकरण नगरेका छन्। यो गत वर्षको तुलनामा १.८६ प्रतिशत बढी हो। गत वर्ष असोजसम्म नविकरण नभएका बीमालेखको संख्या ११,९८,२९५ थियो।

नविकरण नभएका बीमालेखको रकम भने झन्डै ५ प्रतिशतले बढेको छ। हाल कम्पनीहरूमा होल्ड भएको रकम ३६ अर्ब ७८ करोड ६७ लाख रुपैयाँ छ। गत वर्ष असोजसम्म यो रकम ३५ अर्ब ७ करोड २० लाख रुपैयाँ थियो, जसको वृद्धि ४.८९ प्रतिशत देखिएको छ।

बीमा विज्ञहरूका अनुसार बीमालेख नविकरण नहुने मुख्य कारणहरूमा अभिकर्ताहरूको कमजोर सक्रियता, ग्राहकसँग निरन्तर समन्वयको अभाव र बीमितहरूको आर्थिक समस्या रहेका छन्। त्यस्तै, बीमा सरेन्डर सम्बन्धी जानकारीको कमीले पनि नविकरण नहुने दर बढाएको बुझाइ छ।

तर, प्राधिकरणका अनुसार सरेन्डर रकम भने घट्दै गएको छ। तीन महिनामा ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको छ। गत वर्ष असोजसम्म सरेन्डर रकम ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ रहेको थियो। यस अवधिमा २२,९९९ बीमितले सरेन्डर गरेका छन्।

सरेन्डर दर बीमालेख संख्याको आधारमा १८.०३ प्रतिशत घटेको देखिन्छ। गत आवको पहिलो तीन महिनामा सरेन्डर भएको बीमालेख संख्या २८,०५७ थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *