Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कात्तिक २१ देखि काठमाडौंमा सार्वजनीक विद्युतीय बस संचालनमा आउने, सडक किनारामा चर्जिङ पोइन्ट निर्माणको काम सुरु

कात्तिक २१ देखि काठमाडौंमा सार्वजनीक विद्युतीय बस संचालनमा आउने, सडक किनारामा चर्जिङ पोइन्ट निर्माणको काम सुरु

दिलु कार्की
काठमाडौं, ११ असोज । आगामी कात्तिक २१ गते (लक्ष्मी पुजा) को दिनबाट काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनमा आउने भएको छ। बढ्दो इन्धनको मुल्य वृद्धि र उपत्यकाको बढ्दो प्रदुषणलाई नियन्त्रण गर्ने उद्देश्यले ‘सफा सहर, स्वच्छ वातावरण’ भन्ने नारासहित सुन्दर यातायात प्रालिले नेपालमा पहिलो पटक युरो मापदण्ड ७ को विद्युतीय सार्वजनीक बस सञ्चालनमा ल्याउने भएको हो ।
परिक्षणको रुपमा तीनवटा गाडी संचालनमा ल्याएपछि रुट परमिट लिइने कम्पनीले जनाएको छ । त्यसलगतै १० वटा बस खरिद गर्ने र १५ दिनमा नै उपत्यका बाहिर पोखरा, बुटवल, चितवन र धनगडीमा बस सेवा संचालनमा ल्याउने सुन्दर यातायताका अध्यक्ष भेष बहादूर थापाले अर्थको अर्थलाई जानकारी दिए ।

त्यसको केही महिना भित्रैमा नै मुलुक भरका विभिन्न शहरी क्षेत्रहरुमा बस सेवा संचालनको लक्ष्य राखेको कम्पनीले पुर्वको झापा, विराटनगर र धरानमा भने २ महिनाको बिचमा बस सेवा संचालन गर्ने उनले बताए । कठिन बाटोमा पनि सहजै सञ्चालन गर्न सकिने भएकाले लामो अध्ययन पश्चात् चीनियाँ बस ल्याउने निर्णय भएको कम्पनीले बताएको छ । ३५ सिट क्षमताको बसमा सिसिटीभी क्यामेरा साथै निशुल्क वाइफाईको व्यवस्था हुने छ । बसमा स्मार्ट कार्डबाट भाडा तिर्न मिल्ने, यात्रुको मनोरञ्जनका लागि एलइडी टिभी जडान, साथै जिपिएस समेत जडान हुने उनले बताए ।

त्यस्तै बस चार्जिङको लागि चार्जिङ स्टेशन सितापाइला, सुकेधारा र सातदोवाटोमा निर्माण गर्ने काम भइरहेको बताइएको छ । बस संचालनका लागि आवश्यक ९० प्रतिशत काम सकिइसकेको र बाँकी १० प्रतिशत चीनबाट बस नेपाल आए पश्चात सकिने अध्यक्ष थापाले जनाए । गाडी एकपटक फुल चार्ज गरेपछि २ सय ६८ किलोमिटर गुड्ने जनाइएको छ । एउटा बसको मूल्य १ करोड १२ लाख रुपैयाँ पर्न जान्छ । ५० करोड सम्मको कुल अनुमानित लागतमा हाल सम्म कम्पनीको १५ करोड खर्च भईसकेको थापाले जानकारी दिए । सुरुमा ल्याउने तीनबाट बसको लागि ३ करोड रुपैयाँमा कम्पनीले अग्रिम भुक्तानी गरेको छ।

कम्पनीले चिनियाँ कम्पनी सेचुवान गोहङ अटोमोबाईल्स कम्पनी लिमिटेसंग विद्युतिय बस खरिद गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार पाँच बर्षको मर्मत लगायतको सम्पूर्ण जिम्मा उक्त चिनियाँ कम्पनी आफैले लिने छ । तर अन्य सामान्य मर्मत सम्भार भने नेपाली कम्पनीले नै गर्ने छ । उक्त गाडीको ब्याट्रीको ग्यारेन्टि ७ बर्षसम्मको हुने छ । कम्पनीले विद्युतीय बस ल्याउनका लागि ६ महिना अघि देखि नै हङकङ, चीन लगायतका विद्युतीय सवारी साधनहरु संञ्चालन भइरेहका देशमा स्थलगत अध्ययन गरिसकेको थियो ।
हाल चीनबाट ४ जना प्रविधिकहरु नेपाल आएर नेपाली प्रविधिकहरुलाई विद्युतिय बस सेवा सम्बन्धी तालिम दिइरहेका छन भने नेपाली प्रविधिकहरुले पनि चीनमा नै गएर तालिम लिएर स्वदेश फर्किसकेका छन् । नेपालका लागि उक्त कम्पनीको विद्युतिय बस खरिद आधिकारीक बिक्रेता पनि सुन्दर यातायात प्रालि नै रहेको छ ।

‘बस संचालनका लागि हाल सम्म सरकारले आर्थिक सहयोग गरेको छैनतर पनि पनि बस संचालन हुने रुटको २ लाईन सम्म विद्युत कटौती २४ सै घण्टा नगर्ने प्रतिबद्धता सरकारले गरेको छ, अध्यक्ष थापाले भने– प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अगाडी विद्युतीय सवारी साधन संचालनको हकमा भरपुर सहयोग गर्ने प्रतिबद्धाता गरेको हुनाले पनि आगामी दिनमा बस सेवा संचालनमा सरकारको ठुलो सहयोगको अपेक्षा लिएका छौं ।’सरकारीसंगै नीजि क्षेत्रका यातायात कम्पनीहरु र बैंक तथा वित्तिय संस्थाहरु पनि सुन्दर यातायात कम्पनीसंग सहकार्य र लगानी गर्न इच्छुक छन् । तर काम नै नगरि सुरुवाती दिनमा नै अरुको सहयोग र सहकार्य लिनु भन्दा कम्पनीका टिममा रहेका ९ जना व्यक्तिहरुले नै आफ्नो नीजि सम्पति बन्धक राखेर विद्युतिय बस सेवा संचालन गर्नमा लगानी गरिरहेको अध्यक्ष थापाले जानकारी दिए ।

सरकारले नीति तथा कार्यक्रम मार्फत विद्युतीय बस सेवालाई प्राथमिकता दिने भने पश्चात सुन्दर यातायातले नेपालमा विद्युतिय बस भित्रयाउने गृहकार्य सुुरु गरेको थियो । इन्धनको मुल्य वृद्धिका कारण नेपालमा पछिल्लो समय यातायात सेवा संचालनमा समस्या देखिएका छन् । विद्युतीय बस नेपालमा संचालन गर्न सकेमा ति समस्याहरुबाट मुक्ति पाउनुका साथै वातावरणीय प्रदुषणबाट उत्पन्न हुने विभिन्न समस्याहरुको समेत समाधान हुने विश्वास कम्पनीको रहेको छ ।

सुन्दर यातायातसँगै साझा यातायात कम्पनी, मयुर यातायात कम्पनी, गोर्खा इको कम्पनीले पनि विद्युतीय बस नेपालमा भित्र्याउने गृहकार्य गरिरहेको थियो । तर अहिले सम्म ति कम्पनीहरुले कहिलेबाट बस सेवा संचालन गर्ने भन्ने कुराको भने टुङ्गो लाग्न सकेको छैन । सरकारी मातहतको ठुलो बस सेवा संचालन गरिरहेको साझा यातायातले विद्युतिय बस सेवा ल्याउन सरकारी तथा विभिन्न गैर सरकारी निकायहरुसंग लामो समय देखी छलफल गरेको भएता पनि त्यस छलफलले कुनै निष्र्कष निकाल्न सकेन ।

पेट्रोलियम पदार्थको अभावमा दुख भोग्दै आएका नेपालीलाई विद्युतीय बस सञ्चालन आएपश्चात राहत पक्कै मिल्ने छ । साथै, पेट्रोलियम पदार्थको आयातमा पनि कमि आउने छ । जसले गर्दा चुलिदै गएकोे व्यापार घाटामा समेत कमि आउने निश्चित छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x