चिनीको मूल्यबारे अध्ययन गर्न समिति गठन
काठमाडौं, २१ असोज । चिनीको मूल्यलाई लिएर उत्पन्न बिवाद समाधान गर्न सरकारले ७ सदस्यीय अध्ययन समिति गठन गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका कृषि हेर्ने सदस्य डा. दिलबहादुर गुरुङको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा उखु उत्पादक, चिनी उद्योग, उपभोक्ता हितसम्बन्धी काम गर्ने संस्था तथा उद्योग मन्त्रालय र कृषि मन्त्रालयका सहसचिव सदस्य रहने छन् ।
यसैगरी, ऊर्जा क्षेत्रमा लगानी वृद्धि गर्न विश्व बैंक समूहको ११ अर्ब ६३ करोड ऋण स्वीकृत समेत गरको छ भने सिन्धुली बर्दिबास सडकखण्डको मर्मत सम्भारका लागि जापान सरकारले प्रदान गर्ने १ अर्ब ४ करोड सहायता रकम समेत स्वीकृत गरेको छ।
सरकारले श्रमजीवी पत्रकारको न्यूनतम तलब समायोजन गरेको छ। सञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ।