डलरको मुल्य बढ्दा सरकारलाई फाइदा पनि हुन्छ– केशव आचार्य
काठमाडौं, २३ असोज । अमेरिकी डलर हालसम्मकै उच्च हुँदै १ अमेरिकी डलर बराबरका ११८ रुपैयाँ ८० पैसा पुगेकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलर बराबर ११८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । यसअघि ११८ रुपैयाँ ३३ पैसा कायम भएको थियो । भारतीय मुद्रासँगको स्थिर बिनिमय दरका कारण नेपाल रुपैयाँ हालसम्मकै कमजोर भएको छ ।
डलर बढ्दा के फाइदा हुन्छ?
नेपाली मुद्रा कमजोर हुँदैमा समग्र अर्थतन्त्र नै खस्किने भन्ने नहुने अर्थशास्त्री केशव आचार्यले बताएका छन् ।
अहिले नेपाली मुद्राको विनिमयदर मात्रै कमजोर भएको होे । डलर बढ्दा सरकारलाई फाइदा पनि हुने उनि बताउँछन् । डलरको मुल्य बढ्दा विप्रेषण आय पनि बढेको छ । चाडपर्वको अवसरमा विप्रेषण आप्रवाहको गति पनि बढ्ने भएकोले यसबेला रेमिटेन्स पठाउनेले बढि मूल्य पाउँछन् । विप्रेषणले धानेको अर्थतन्त्रमा यो सकारात्मक कुरा हो ।
डलर बढ्दा पर्यटन क्षेत्रमा पनि सकारात्मक असर पुग्ने देखिन्छ । पर्यटन आगमनलाई बढाउन सके आयमा वृद्धि हुने र यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्छ । तर, मुद्रास्फिती नियन्त्रणमा नभएको अवस्थामा भने पर्यटन क्षेत्रबाट कमाउन नसकिने अर्थशास्त्री आचार्य बताउँछन् । दैनिक उपभोग्य सामानमा नै खर्च बढ्ने हुँदा त्यसले आयमा सुधार नहुने देखिन्छ ।
यस्तै, डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने देखिन्छ । हस्तकला लगायत नेपाली समानको निर्यात बढाउन सके आम्दानी बढ्न सक्छ । तर, डलर बढ्दैमा निर्यातको अनुपात ह्वात्तै बढ्ने भने हुँदैन ।
आयातमूखी अर्थतन्त्रमा डलर बढ्दा सबैभन्दा बढि फाइदा पुग्ने देखिन्छ । किनभने डलरको मुल्यवृद्धिसँगै भन्सार आयमा सुधार हुन्छ । आयातित वस्तुको मुल्यांकन पनि बढ्छ । अझ सरकारले गत महिना मात्रै आयातित वस्तुमा भन्सार मुल्यांकन बढाएको पनि छ । डलर बढेकै कारण भन्सार आयमा तुलानात्मक रुपमा वृद्धि हुने स्पष्ट छ ।
बेफाइदा कसलाई ?
डलर बढ्दा सरकार भन्दा पनि आमउपभोक्ता बढि मारमा परेका छन् । आयातमूखी अर्थतन्त्र भएका कारण विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु महँगो पर्ने हुँदा त्यसले मूल्य बृद्धि गराउन अहम भूमिका खेलेको छ । दैनिक उपभोग्य सामानहरु पनि आयात गर्ने हाम्रोजस्तो मुलुकका उपभोक्ताको दैनिकीमा पनि चाप पर्ने देखिन्छ ।
यस्तै, कच्चापदार्थ, मेशिनरी सामान आयात गर्नुपर्ने भएकोले नेपाली उद्यमी, व्यवसायीको उत्पादन लागत बढ्ने देखिन्छ । विदेश पढ्न जाने, औषधि उपचार, विदेश भ्रमण जानेहरुलाई पनि समस्या पर्ने छ ।
सरकारलाई पर्ने अर्को चाप भनेको विदेशी ऋण र साँवा भुक्तानीमा हो । डलर बढ्दा विदेशी ऋण र साँवा भुक्तानीमा सरकारलाई थप भार पर्छ । यस्तै डलरमा उर्जा खरिद सम्झौता गरेका जलविद्युत कम्पनीहरुलाई बढाएर रकम भुक्तानी गर्नुपर्ने हुन्छ । यसले नेपाल विद्युत प्राधिकरणको वासलातमा नै असर गर्ने देखिन्छ ।
के गर्न सकिन्छ?
डलरको भाउ वृद्धिले नेपाली अर्थतन्त्रमा पु¥याएको असरलाई कम गर्न सरकारले आयातित वस्तुहरुमा कडि कढाउ गर्नुपर्ने आचार्य बताउँछन् ।
डलरको वृद्धिको चापलाई न्युनिकरण गर्न भारतध तथा श्रीलंकाले केहि आयातित वस्तुहरुमा परिणामात्मक बन्देज लगाइसकेको हुँदा नेपाल सरकारले पनि त्यतातिर चासो दिनुपर्ने देखिन्छ । अतिआवश्यक वस्तु बाहेक केहि वस्तुहरुमा सरकारले पनि परिणात्मक बन्देज लगाएर अर्थतन्त्रमा पर्ने नकारात्मक असरलाई नियन्त्रण गर्न सक्छ ।